काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल कार्यक्रम (रोड शो) आयोजना गर्ने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डद्वारा जारी बुक विल्डिङ्ग निर्देशिका, २०७७ अनुसार प्रारम्भिक विवरणपत्र प्रस्तुत गर्दै लगानीकर्ताहरूबाट आशय मूल्य , न्यूनतम खरिद संख्या तथा मूल्याङ्कनसम्बन्धी सुझाव संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
निर्धारित कार्यक्रम अनुसार रोड शो २०८३ साल वैशाख ११ गते शुक्रबार दिउँसो ३ बजे काठमाण्डौको नागपोखरीस्थित काठमाण्डौ म्यारियट होटलमा सञ्चालन हुनेछ।
नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ। कार्यक्रममा सहभागी हुनका लागि आवश्यक प्रारम्भिक विवरणपत्र, तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण लगायतका कागजातहरू कम्पनीको आधिकारिक वेबसाइट तथा निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ।
यस सम्बन्धमा थप जानकारीका लागि निष्कासनकर्ता कम्पनी तथा बिक्री प्रबन्धकको कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

