काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत चैत २२ गतेदेखि हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
कम्पनीको हकप्रद सेयरमा चैत २२ गतेदेखि वैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर माग बमोजिम आवेदन प्राप्त नहुने देखिएकाले आवेदन दिने म्याद थप गरिएको कम्पनीले जनाएको छ ।
अब भने कम्पनीको हकप्रदमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीलाई क्रेडिट रेटिङ्ग संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडले ‘आईआरएन डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

