–रविन ठकुरी
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान(डिडिसी)बाट उत्पादित चिजको उपभोग गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपश्चात डीडीसीको आम्दानी बढेको छ । तर (डिडिसी) ले किसानको बक्यौता भने अझै दिन सकेको छैन । डिडिसीले किसानको ६० करोड रुपैयाँ बक्यौता दिन बाँकी रहेको छ ।
बजारमा दैनिक ७५ देखि ८० हजार लिटर दुधको माग रहेको छ । तर किसानबाट दैनिक ६० हजार दुध संकलन गरिरहेको अवस्था छ । हाल मागअनुसारको दुध बजारमा पठाउन नसकेको अवस्थामा छ ।
त्यही माथि कृषकले समयमा आफ्नो भुक्तानी नपाउँदा यो विषय पेचिलो बनिरहेको छ । डिडिसीका अधिकारीहरु किसानलाई समयमा भुक्तानी दिने बताइरहेका छन् । कृषकलाई उत्साहित बनाउन थप आकर्षक योजना ल्याउन आफुहरु लागिपरेको उनीहरुको भनाई छ । तर कृषकहरु आफ्नो भुक्तानी पाउने समय कुरेर बसिरहेका छन् ।
डिडिसीको बक्यौता र मौज्दात बराबरी, तर भएन कृषकको भुक्तानी
दुग्ध विकास संस्थानले कृषकबाट दैनिक रुपमा दुध संकलन गरिरहेको हुन्छ । संकलित दुधको भुक्तानी कृषकलाई व्यवस्था गर्नुपर्ने हुन्छ । डिडिसीले २०८२ चैतमसान्तसम्म कृषकलाई ६० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । ‘डिडिसीसँग मौज्दातमा ७० करोड रुपैयाँ हाराहारी रकम रहेको छ’, दुग्ध विकास संस्थानका आर्थिक व्यवस्थापन विभागका प्रमुख टिकाराम सापकोटाले बताए ।
डिडिसीको मौज्दातमा रहेको रकम र किसानको बक्यौता करिब–करिब बराबरी हुन आउँछ । कृषकको बक्यौता रहेपनि डिडिसीले दैनिक रुपमा दुध संकलनको प्रक्रियालाई अघि बढाइरहेको हुन्छ ।
यो अवस्थामा प्रत्येक महिना डिडिसीको खातामा कृषकलाई दिनुपर्ने १५ देखि १८ करोड रुपैयाँ नयाँ पैसा थपिने गर्दछ । हरेक महिना डिडिसीले २५ करोड रुपैयाँसम्म भुक्तानीको व्यवस्था गर्छ । तर यहि अवस्थामा डिडिसीले कृषकलाई बक्यौताको भुक्तानी दिन लामो समय लगाउने देखिन्छ ।
‘कृषकको भुक्तानी निरन्तर रहने छ । बक्यौताको भुक्तानी पनि सोहिअनुसार हुनेछ’, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरण कुमार पाण्डेले भने ।
अधिक मागलाई सम्बोधन गर्न डिडिसीले पाउण्डर दुधको प्रयोग गर्दै आएको छ । उपभोक्ताको दुधको मागलाई पुरा गर्न नसेकेको अवस्थामा डिडिसीले कृषकको बक्यौता समयमा दिन नसक्नु सधै बल्झने घाउँ बन्दै आएको छ । यो अवस्थामा उत्पादन बढाउने विषय अझै जटिल बन्न सक्छ ।
‘किसानलाई उत्साहित बनाउन पहिले भुक्तानीको विषयलाई प्राथमिक्तामा राखेका छौं । उनीहरुको लागि थप नयाँ योजना पनि ल्याउँदैछौं । कृषकलाई इन्सेनटिभाइस गर्ने व्यवस्था गर्न लागेका छौं’, डिडिसीका महाप्रबन्धक पाण्डेले भने ।
चैत, बैशाख, जेठ, असार, साउन र भदौलाई ड्राई सिजन भनिन्छ । यी महिनामा सकंलन कम भएसँगै बजारको मागअनुसारको दुध पुर्याउन सकिदैन । यस्तो अवस्थामा सञ्चित दुधको पाउडरलाई बजारमा पठाएर माग धान्ने गरिएको छ । यी पाउडरको आयु करिब १८ महिनाको हुने गर्दछ । प्राय डिडिसीले उत्पादन गरेको दुधको पाउडर विदेशभन्दा स्वदेशमा नै खपत हुने गर्दछ ।
बालेनको प्रचारले बढायो व्यापार, सुधारका लागि पर्याप्त छैन यो आधार
२०८३ साल जेठ २ गते शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा डिडिसीको याक चिजसहितको तस्वीर सार्वजनिक गरेलगत्तै एकाएक चर्चा बटुल्न सफल भयो । उनले आफ्नो आधिकारिक फेसबुकमार्फत तस्वीर साझा गरेलगत्तै चर्चा बटुल्न सफल भएको हो ।
तस्वीर साझा गरेको तीन दिन (जेठ १, २ र ३ गते) २९८ किलो ७०० ग्राम चिज विक्री भएको थियो । यस अवधिमा १०० ग्रामको ८३ प्याकेट (८ किलो ३०० ग्राम), २०० ग्रामका १०१४ प्याकेट (२०२ किलो ८०० ग्राम) र ५०० ग्रामका १७५ प्याकेट (साढे ८७.५ किलो) चिज बिक्री भएको थियो ।
उक्त अवधिमा खुद्रा मूल्यअनुसार ५ लाख ३७ हजार रुपैयाँभन्दा धेरैको चिज बिक्री भएको थियो । सो अवधिमा बजारमा २५ देखि ३० प्रतिशतसम्मको माग बढेको थियो ।
विभिन्न कारणले समस्याग्रस्त बन्दै गएको डिडिसीलाई प्रधानमन्त्री बालेनको याक चिजको प्रचारले थोरै भएपनि राहत मिलेको थियो ।
‘सामाजिक सञ्जालमा याक चिजको प्रंचारले उत्साहित बनाएको छ । उत्पादनको माग बढाएको छ । यसले विक्री–वितरण समेत बढाएको छ’, डिडिसीको महाप्रबन्धक पाण्डेले बताए ।
याक चिज बैशाखदेखि असोजसम्म उत्पादन हुन्छ । वार्षिक ५० देखि ६५ टन याक चिज उत्पादन हुन्छ । उत्पादनको ३५ देखि ४० प्रतिशत स्थानीयले नै खपत गर्ने गर्दछन् । याक चिज उत्पादनका लागि रामेछाप, दोलखा र रसुवालाई मुख्य स्थान मानिन्छ ।
याक चिजलाई तयार हुन ४५ देखि १२० दिन लाग्छ । कृषकलाई याक चिजको उत्पादन हुनु अघि नै ३५ प्रतिशत अग्रीम भुक्तानी दिने प्रचलन छ । यसैलाई आधारमान्दा यो वर्षका लागि बैशाख अघि नै कृषकलाई याक चिजको अग्रीम भुक्तानी दिइसकेको छ ।
‘प्रधानमन्त्री वालेनले याक चिजलाई अन्तर्राष्ट्रिय बजारमा एक्सपोजर दिएको छ । यसले अझै व्यापार बढ्ने अपेक्षा छ । तर यस क्षेत्रमा जनशक्ति अभावले समस्या पैदा गरेको छ । नयाँ पुस्ता आउन मान्दैनन्, पुरानोको भरमा चलेको छ’, (डिडिसी( का योजना जनशक्ति तथा बजार व्यवस्थापन विभागका प्रमुख संजीव झाले भने ।
बालेनले गरेको कार्यले डिडिसीको बजारीकरणमा सहयोग पुर्याएपनि कृषकको भुक्तानीले अझै निकास पाउन सकेको छैन । डिडिसी अहिले पनि समस्याग्रस्त नै छ ।
‘व्यवस्थापकिय सुधार गर्दै छौं । खर्च कटौति गरि बजार बिस्तारमा लाग्दै छौं । बैज्ञानिक ढङ्गले अघि बढ्दै छौं’, डिडिसीका महाप्रबन्धक पाण्डेले जानकारी गराए ।
समस्याग्रस्त डिडिसीलाई सुधारका लागि त्यहाँका अधिकारीले उपाय बताइरहेपनि किसानको बक्यौताको विषय समाधान हुन सकिरहेको छैन । बेला–बेलामा आइरहने चर्चाले व्यापार केहि सुधार देखिएपनि यो दीर्घकालिन हुन सक्दैन । यसमा व्यवस्थापकिय र प्रशासनीक सुधारको खाँचो छ ।
पाँच वर्षमा कति दुध संकलन भयो ? कति याक चिज उत्पादन भए ?
आर्थिक वर्ष २०८१/८२ मा दुग्ध विकास संस्थान (डिडिसी) ले ३ करोड ४० लाख ५८ हजार लिटर दुध संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ५१ लाख ७३ हजार दुध संकलन गरेको हो ।
त्यसैगरि आर्थिक वर्ष २०७९/८० मा ३ करोड ५८ लाख दुध संकलन गरेको थियो । साथै आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ३६ लाख र आर्थिक वर्ष २०७७/७८ मा ४ करोड ३५ लाख दुध संकलन गरेको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा ५५ हजार १ सय ८७ किलोग्राम याक चिज उत्पादन गरेको छ । त्यसैगरि आर्थिक वर्ष २०८०/८१ मा ५३ हजार १ सय ३२ किलोग्राम र आर्थिक वर्ष २०७९/८० मा ५८ हजार १ सय ३४ किलोग्राम याक चिज उत्पादन भएको थियो ।

