काठमाण्डौ । विद्युतीय गाडीको कर नीतिसम्बन्धी सूचना चुहावट प्रकरणलाई लिएर आलोचनाको केन्द्रमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध लागेका आरोप पुष्टि गर्न खुला चुनौती दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा बिहीबार भएको छलफलका क्रममा अर्थमन्त्री वाग्ले असाधारण रूपमा आक्रामक र भावुक देखिए। उनले आफ्नो सार्वजनिक जीवन नै दाउमा राख्दै भ्रष्टाचार वा बेइमानीको एउटा पनि प्रमाण देखाउन चुनौती दिए।
"दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्। त्यो प्रमाणित भयो भने म अर्थमन्त्री पद मात्र होइन, राजनीति र सार्वजनिक जीवन नै त्याग्न तयार छु," वाग्लेले भने।
आफूले वर्षौंको मेहनत र नैतिकताको आधारमा बनाएको सार्वजनिक छविलाई ध्वस्त पार्न योजनाबद्ध प्रयास भइरहेको उनको आरोप थियो। पछिल्ला दिनमा विद्युतीय गाडीको कर दर परिवर्तनअघि सूचना चुहिएको विषयलाई लिएर अर्थ मन्त्रालय र अर्थमन्त्रीमाथि प्रश्न उठिरहेका बेला उनले पहिलोपटक कडा प्रतिवाद गरेका हुन्।
वाग्लेले आफूविरुद्ध तथ्यभन्दा बढी अफवाह र चरित्रहत्या अभियान चलाइएको दाबी गर्दै संसदमै प्रश्न गरे, "यस्तो नैतिक साहस र जवाफदेहिता अरू कति राजनीतिज्ञमा छ ?"
उनको यो अभिव्यक्ति सार्वजनिक लेखा समितिको बैठकमा सबैभन्दा चर्चित र ध्यानाकर्षक क्षण बनेको छ। कर नीति चुहावट विवाद चर्किरहेका बेला अर्थमन्त्रीले आफ्नो सम्पूर्ण राजनीतिक भविष्य नै दाउमा राखेर दिएको चुनौतीले अब बहसलाई नयाँ मोडमा पुर्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।