काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सोमबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।
आइतबार उल्लेख्य रूपमा बढेको सुनको भाउ सोमबार भने ओरालो लाग्दै प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य प्रतितोला चार हजार सात सय रुपैयाँले बढेर दुई लाख ८३ हजार आठ सय रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
आइतबार प्रतितोला चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।
पछिल्ला केही सातायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव भइरहेकाले त्यसको असर स्थानीय बजारमा समेत देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस चार हजार ५४ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
विश्व बजारमा डलरको विनिमय दर, केन्द्रीय बैंकहरूको मौद्रिक नीति, भूराजनीतिक तनाव तथा लगानीकर्ताको मागका आधारमा सुनको मूल्य निर्धारण हुने भएकाले नेपाली बजारको मूल्य पनि दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

