काठमाण्डौ । पर्यटकीय सहर पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दै गएको छ। पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बञ्जी नेपालले सञ्चालन गरेको बञ्जीजम्पमा सहभागी हुनेमध्ये ठूलो हिस्सा भारतीय पर्यटकको रहेको पाइएको छ।
कम्पनीका अनुसार गत जेठ महिनामा करिब ५०० जनाले बञ्जीजम्प गरेका थिए। तीमध्ये झन्डै ५० प्रतिशत भारतीय पर्यटक रहेको बञ्जी नेपाल एडभेन्चर्स प्रालिका अध्यक्ष दुर्गादत्त खरेलले जानकारी दिए। सो महिनामा मात्रै कम्पनीले बञ्जीजम्पबाट ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
अध्यक्ष खरेलका अनुसार वैशाख, जेठ र असारमा बञ्जीजम्प गर्नेको संख्या विगतको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। सडक र हवाई पहुँच सहज बन्दै जाँदा पोखरा आउने भारतीय पर्यटक बढेका छन्। पछिल्लो समय भारतीय युवाको समूह दैनिकजसो बञ्जीजम्प गर्न आउने गरेको कम्पनीको भनाइ छ।
विदेशमा रोजगारी तथा अध्ययनका लागि गएका नेपाली युवा पनि छुट्टीमा स्वदेश फर्किएपछि पोखरा घुमघामसँगै साहसिक खेलको अनुभव लिन आउने गरेका छन्। यसले बञ्जीजम्पलाई पोखराको नयाँ आकर्षक पर्यटन उत्पादनका रूपमा स्थापित गरिरहेको छ।
छ वर्षअघि सञ्चालनमा आएको बञ्जी नेपालले हालसम्म १५ हजारभन्दा बढी व्यक्तिलाई बञ्जीजम्प गराइसकेको छ। कम्पनीले प्रतिव्यक्ति ७ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको छ। उक्त शुल्कमा फोटो, भिडियो र टिसर्टसमेत उपलब्ध गराइन्छ।
एक सय एक मिटर गहिराइमा गरिने पोखराको बञ्जीजम्पको मुख्य आकर्षण प्राकृतिक दृश्य हो। जम्प गर्दा एकातिर माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्य देखिन्छ भने अर्कोतर्फ सेती खोंच र वरपरको हरियालीले साहसिक अनुभवलाई अझ रोमाञ्चक बनाउने कम्पनीको दाबी छ।
बञ्जी नेपालका संस्थापक अध्यक्ष सन्तोष भट्टराईसहित पोखराका ११ युवा उद्यमीले यो परियोजनामा ८ करोड २५ लाख रुपैयाँ लगानी गरेका छन्। क्यान्टिलिभर ब्रिज डिजाइनमा निर्माण गरिएको ३५ मिटर अग्लो टावरबाट ५५ मिटर लामो प्लेटफर्ममार्फत बञ्जीजम्प गराइन्छ।
बञ्जीजम्प सञ्चालनमा आएसँगै स्थानीय रोजगारी, होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायमा समेत आर्थिक गतिविधि बढेको छ। कम्पनीकी कार्यकारी निर्देशक मीना बरालका अनुसार हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। कम्पनीले वार्षिक दुईदेखि साढे दुई लाख रुपैयाँसम्म राजस्व बुझाउँदै आएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेका अनुसार पोखरामा प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, हटएयर बेलुनसँगै बञ्जीजम्प पनि महत्वपूर्ण साहसिक पर्यटन उत्पादनका रूपमा अघि बढिरहेको छ।
उनका अनुसार यस्ता साहसिक गतिविधिले विदेशी मुद्रा आर्जन, युवालाई रोजगारी र पोखराको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याइरहेका छन्। स्थानीय समुदाय, निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य गरेर साहसिक पर्यटनलाई अझ व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखराले अन्तर्राष्ट्रिय साहसिक पर्यटन गन्तव्यका रूपमा थप पहिचान बनाउन सक्ने देखिन्छ।
पोखराको मुख्य पर्यटकीय क्षेत्रबाट करिब तीन किलोमिटर दूरीमा रहेको रातोपैह्राको बञ्जीजम्पका कारण केही आन्तरिक पर्यटकको पोखरा बसाइ लम्बिने सम्भावना पनि देखिएको छ। गण्डकी प्रदेशमा हाल कुश्मासहित पोखराको रातोपैह्रा र हेमजामा पनि बञ्जीजम्प सञ्चालनमा छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।