काठमाण्डौ। सामाजिक सञ्जाल कम्पनी मेटामाथि एआई प्रयोग गरी विभेदपूर्ण तरिकाले कर्मचारी कटौती गरेको आरोप लागेको छ। मेटाका वर्तमान तथा पूर्व कर्मचारीहरूको समूहले कम्पनीविरुद्ध मुद्दा दायर गर्दै एआई प्रणालीले संरक्षित बिदामा रहेका कर्मचारीलाई लक्षित गरी रोजगारीबाट हटाएको दाबी गरेका छन्।
अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी जिल्ला अदालतमा सोमबार दायर गरिएको मुद्दामा २६ जना अज्ञात कर्मचारीले मेटाले गर्भावस्था, अशक्तता तथा संरक्षित बिदासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाएका छन्। उनीहरूले आफ्ना दाबी व्यक्तिगत रूपमा मध्यस्थता प्रक्रियामार्फत अघि बढाउन चाहेको बताएका छन्।
कानुनी निवेदनमा उल्लेख भएअनुसार, ती कर्मचारीहरू मेटाले मे महिनामा गरेको कर्मचारी कटौतीमा प्रभावित भएका थिए। उक्त चरणमा कम्पनीको कुल जनशक्तिको करिब १० प्रतिशत कर्मचारी कटौती गरिएको थियो।
उनीहरूले मेटाले प्रयोग गरेका आन्तरिक एआई प्रणालीहरूले कर्मचारीको स्वीकृत अनुपस्थितिलाई पर्याप्त रूपमा ध्यान नदिएको आरोप लगाएका छन् । मुद्दामा कार्यसम्पादन मूल्यांकन, क्यालिब्रेसन स्कोर, उत्पादकत्व तथा आउटपुट मेट्रिक्स, ‘एआई–नेटिभ’ रेटिङ र एआई टोकन प्रयोगजस्ता सूचकहरूमा आधारित प्रणालीले स्वास्थ्य वा पारिवारिक कारणले संरक्षित बिदामा रहेका कर्मचारीलाई अनुचित रूपमा प्रभावित पारेको उल्लेख गरिएको छ ।
मुद्दामा एआई प्रयोगसँग जोडिएको ‘टोकन खपत’ जस्ता मापदण्डलाई कर्मचारी छनोटमा प्रयोग गरिएको र यसले केही समूहका कर्मचारीलाई लक्षित गरेको आरोप लगाइएको छ।
मेटाले भने आरोप अस्वीकार गरेको छ। कम्पनीका प्रवक्ताले सीएनबीसीलाई दिएको प्रतिक्रियामा दाबीहरू तथ्यमा आधारित नभएको र तिनमा कुनै कानुनी आधार नरहेको बताएका छन्। मेटाका अनुसार कर्मचारी व्यवस्थापन तथा संगठनात्मक निर्णयहरू एआईले नभई मानिसहरूले गर्ने गरेका छन्।
यो मुद्दाले कार्यस्थलमा एआईको बढ्दो प्रयोगले रोजगारी सुरक्षा, अशक्तता भएका कर्मचारी तथा अन्य संरक्षित समूहमा पार्न सक्ने प्रभावबारे बढ्दो चिन्तालाई थप उजागर गरेको छ।
मुद्दा दायर गर्ने कर्मचारीहरूले अदालतसँग मेटामा आफ्नो रोजगारीको अवस्था यथावत् राख्न प्रारम्भिक आदेश जारी गर्न माग गरेका छन्। साथै, एआई सहयोगमा गरिएको कर्मचारी छनोट प्रक्रियाको स्वतन्त्र अडिट गरिनुपर्ने र मध्यस्थतामार्फत विवाद समाधान नभएसम्म उक्त प्रक्रिया रोक्नुपर्ने माग गरेका छन्।
यो मुद्दा क्यालिफोर्नियाको अदालतले एआईमा आधारित कर्मचारी छनोट प्रणालीसम्बन्धी अर्को मुद्दामा प्रविधि कम्पनी वर्कडेविरुद्धका दाबीलाई अघि बढाउन अनुमति दिएको केही समयपछि आएको हो। उक्त मुद्दामा वर्कडेले प्रयोग गर्ने एआई रोजगार छनोट प्रविधिले कर्मचारी विभेदसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो।
वर्कडेले भने आरोप अस्वीकार गर्दै आफ्नो एआई प्रणालीले जाति, उमेर वा अशक्तताजस्ता संरक्षित विशेषताका आधारमा निर्णय नगर्ने र जिम्मेवार एआई कार्यक्रमअन्तर्गत आफ्ना उत्पादनहरूको परीक्षण गर्ने जनाएको थियो।

