काठमाण्डौ । वैज्ञानिकहरूले मानिसको अधिकतम सम्भावित आयु करिब १५६ वर्षसम्म हुन सक्ने निष्कर्ष निकालेका छन्। गणितीय मोडलमा आधारित एक नयाँ अध्ययनले शरीरमा समयसँगै जम्मा हुने अपरिवर्तनीय कोषीय क्षतिका कारण मानव जीवनको एउटा जैविक सीमा रहने देखाएको हो।
वैज्ञानिकहरूका अनुसार यदि बुढ्यौलीसँग सम्बन्धित अधिकांश प्रक्रियालाई नियन्त्रण वा उल्ट्याउन सकिए पनि शरीरमा हुने सोमाटिक म्युटेसन अर्थात् कोषीय आनुवंशिक क्षतिलाई पूर्ण रूपमा रोक्न नसकिएसम्म मानव आयु निश्चित सीमाभन्दा माथि जान कठिन हुनेछ।
अध्ययन एनपीजी एजिङ जर्नलमा प्रकाशित भएको हो। अनुसन्धानकर्ताहरूले बुढ्यौलीका विभिन्न कारणहरूलाई क्रमशः हटाउँदै गणितीय मोडल तयार गरेका थिए। मोडलअनुसार बुढ्यौलीका सबै प्रक्रियालाई नियन्त्रण गरे पनि सोमाटिक म्युटेसनलाई बाँकी राख्दा मानिसको औसत अधिकतम आयु करिब १४६ देखि १९४ वर्षको बीचमा सीमित हुने देखिएको छ। यसमध्ये सैद्धान्तिक अधिकतम सीमा करिब १५६ वर्ष रहेको अध्ययनले देखाएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार मस्तिष्कका न्युरोन र मुटुका कार्डियोमायोसाइट्स जस्ता पुनःनिर्माण हुन नसक्ने कोषहरू मानव आयुको मुख्य सीमक हुन्। यी कोषहरू विभाजन भएर नयाँ बन्न नसक्ने भएकाले समयसँगै जम्मा हुने आनुवंशिक क्षतिले अन्ततः शरीरको कार्यक्षमतामा असर पार्ने बताइएको छ।
अध्ययनका सह–अनुसन्धानकर्ता एभगेनी एफिमोभका अनुसार हाल केही प्रकारका बुढ्यौलीका लक्षणलाई उल्ट्याउने उपचार प्रविधि विकास भइरहे पनि सोमाटिक म्युटेसनलाई नियन्त्रण गर्ने प्रभावकारी उपाय अझै उपलब्ध छैन।
अनुसन्धानकर्ताहरूले सुरुमा यस्तो काल्पनिक बुढ्यौली नहुने मानवको मोडल बनाएका थिए, जसमा उमेर बढ्दै जाँदा मृत्युको जोखिम बढ्दैन। यस्तो अवस्थामा मानिसको औसत आयु करिब १ हजार ७५९ वर्षसम्म पुग्ने देखिएको थियो। तर सोमाटिक म्युटेसनलाई समावेश गर्दा यो सम्भावना घटेर करिब १५६ वर्षमा सीमित भएको थियो।
अध्ययनले कलेजो जस्ता निरन्तर नयाँ कोष उत्पादन गर्ने अंगहरूले लामो समयसम्म आनुवंशिक क्षति सहन सक्ने भए पनि मस्तिष्क र मुटुजस्ता पुनःनिर्माण नहुने अंगहरू अन्ततः कमजोर हुने देखाएको छ।
वैज्ञानिकहरूले अब आफ्नो मोडलमा बुढ्यौलीका अन्य जैविक संकेतहरू समेत समावेश गरी थप अनुसन्धान विस्तार गर्ने योजना बनाएका छन्।

