काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कामनाक्षेत्रमा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १० गते भएको घटना र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाबारे छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। गृह मन्त्रालयले गठन गरेको समितिले आफ्नो कामसमेत सुरु गरिसकेको सरकारले जनाएको छ।
सरकारले घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मिलाएको विज्ञप्तिमा उल्लेख छ।
पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषी पहिचान गरी कडा कानुनी कारबाही गर्ने प्रतिबद्धतासमेत सरकारले जनाएको छ।
सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा तथा मुठभेडबाट सम्भव नहुने स्पष्ट पारेको छ। नेपाली समाजले सदियौँदेखि कायम राखेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कमजोर बनाउने गतिविधिमा संलग्न नहुन पनि सरकारले आग्रह गरेको छ।
धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गरी उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध सबै पक्षलाई अपिल गरिएको छ।
मुलुकमा शान्ति–सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र सर्वसाधारणलाई जिम्मेवार भूमिका निर्वाह गर्न सरकारले आह्वान गरेको छ।


