काठमाण्डौ । संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। संसदीय सुनुवाइ समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आ–आफ्नो कार्यसूचीअनुसार छलफल अघि बढाउने भएका छन्।
संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ हुने कार्यक्रम छ। सुनुवाइअघि कार्कीविरुद्ध दर्ता भएका उजुरीका उजुरीकर्तासँग छलफल गरिनेछ भने त्यसपछि प्रस्तावित उम्मेदवार कार्कीलाई समितिसमक्ष उपस्थित गराई प्रश्नोत्तर तथा सुनुवाइ प्रक्रिया सञ्चालन गरिनेछ। समितिको बैठक बिहान ११ः१५ बजेका लागि तय गरिएको छ।
यसअघि मंगलबार समितिले निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासँग संसदीय सुनुवाइ सम्पन्न गरेको थियो।
उता, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

