काठमाण्डौ । सिराहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको घरअगाडि स्थानीयवासी र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको छ।
मृतक परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ जाने तयारी भएपछि सुरक्षा व्यवस्थाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले घेराउ गरेका छन्।
सुनसरीको घटनाको विरोधमा बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा औरही गाउँपालिका–२ तुलसियाहीका यादवलाई गोली लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको थियो।
घटनापछि स्थानीयवासीले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन जारी राखेका छन्।
प्रदर्शनका क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएपछि तनाव थप बढेको हो। स्थानीयले नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोप लगाइएको भन्दै त्यसको विरोध गरेका छन्।
उनीहरूले पक्राउ परेका सबैलाई तत्काल रिहा गर्नुपर्ने मागसमेत अघि सारेका छन्। गृहमन्त्री गुरुङ मृतक परिवारलाई भेट्न पुग्ने कार्यक्रम रहे पनि स्थानीयको अवरोध र तनावका कारण त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

