काठमाण्डौ। लगातारको वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गतको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ। यसैबीच, इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ स्थित किर्नेटार क्षेत्रमा लामासाँघु–रामेछाप सडकखण्ड सामाकोशी खोलाको बहावले कटान गरेपछि उक्त सडकमा पनि यातायात सेवा बन्द भएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा पासाङ ल्हामु राजमार्ग त्रिशूली नदीको कटानका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
उता, गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो खसेपछि लार्के–बेनीघाट कच्ची सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा बाढी, पहिरो तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

