काठमाण्डौ । केही दिनयता आन्दोलनका कारण प्रभावित बनेको मधेश प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। लामो दूरीका सार्वजनिक सवारीसाधन पुनः सञ्चालनमा आएसँगै यात्रु आवागमन सहज हुन थालेको छ भने बजार क्षेत्र पनि पुनः खुल्न थालेका छन्।
सर्लाहीसहित मधेशका अधिकांश जिल्लाबाट काठमाण्डौ, वीरगन्ज, जनकपुर र बर्दिवासतर्फ चल्ने लामो दूरीका बस शनिबारदेखि नियमित सञ्चालनमा आउन थालेका छन्। यसअघि बिहीबार र शुक्रबार सार्वजनिक यातायात ठप्प हुँदा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने यात्रुहरू समस्यामा परेका थिए।
बस व्यवसायीका अनुसार आइतबारदेखि यातायात सेवा थप सहज बन्दै गएको छ। ढल्केबरदेखि पूर्वका केही क्षेत्रमा अझै पूर्ण रूपमा बस सञ्चालन हुन नसके पनि हायस, विङ्गरलगायत साना सवारीमार्फत यात्रु ओसारपसार सुरु भइसकेको छ। सिराहा, सप्तरी, सुनसरी र विराटनगरतर्फको सेवा पनि क्रमशः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबारदेखि महेन्द्र राजमार्ग तथा भित्री सडकहरूमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ। स्थानीय रुटमा चल्ने टेम्पु, म्याजिक, जीप, बोलेरो र बस सेवा भने आन्दोलनका बीच पनि अधिकांश स्थानमा नियमित सञ्चालनमै रहेका थिए।
काठमाण्डौ आवतजावत गर्ने रात्रिकालीन बस सेवा पनि निर्वाध रूपमा सञ्चालन भइरहेको व्यवसायीहरूले बताएका छन्। सदरमुकामबाट छुट्ने बसहरूको टिकट बुकिङसमेत पुनः सुरु भएको छ।
यातायात सेवा मात्रै होइन, आन्दोलनका कारण प्रभावित मधेशका प्रमुख बजार क्षेत्रहरू पनि विस्तारै खुल्न थालेका छन्। सर्लाहीका बरहथवा, बयलवास र मलङ्गवा बजार शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्। प्रशासनले पनि जिल्लाको जनजीवन सामान्य अवस्थातर्फ उन्मुख भएको जनाएको छ।

