काठमाण्डौ । नेपालको निरन्तर विरोधका बाबजुद भारत र चीनले लिपुलेक नाका हुँदै द्विपक्षीय सीमा व्यापार पुनः सञ्चालनमा ल्याएका छन्। कोरोना महामारीपछि करिब छ वर्षदेखि बन्द रहेको यो व्यापारिक मार्ग शनिबारदेखि औपचारिक रूपमा खुलाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सीमा व्यापारको पहिलो चरणमा भारतका १६ जना दर्तावाला व्यापारी र चार जना सहयोगीसहित २० सदस्यीय टोली चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत पर्ने ताक्लाकोट बजार पुगेको छ।
इन्डो–तिब्बती व्यापार संघका अध्यक्ष जीवन सिंह रौक्लीको नेतृत्वमा गएको टोलीले भारतको उत्तराखण्डस्थित गुन्जी अध्यागमन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरेको थियो। त्यसपछि टोली नाबिधाङमा बास बसेर शनिबार बिहान लिपुलेक दर्रातर्फ प्रस्थान गरेको बताइएको छ।
भारतीय अधिकारीका अनुसार शनिबार बिहान १०ः१५ बजे चिनियाँ पक्षले लिपुलेक दर्रामा आवश्यक औपचारिकता पूरा गरी भारतीय व्यापारीलाई तिब्बत प्रवेशको अनुमति दिएको थियो। टोली ताक्लाकोटतर्फ लागेसँगै सन् २०२६ को भारत–चीन सीमा व्यापार सिजन औपचारिक रूपमा सुरु भएको हो।
धार्चुलाका उपविभागीय मजिस्ट्रेट आशिष जोशीले अन्य दर्तावाला व्यापारीलाई पनि तिब्बत पठाउन चिनियाँ अधिकारीसँग इमेलमार्फत समन्वय भइरहेको बताएका छन्। चिनियाँ पक्षबाट अनुमति प्राप्त भएपछि थप व्यापारीका समूहलाई चरणबद्ध रूपमा ताक्लाकोट पठाइने उनको भनाइ छ।
नेपालले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो भूभाग दाबी गर्दै आएको छ। लिपुलेक नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट करिब ५६ किलोमिटरभित्र पर्ने उल्लेख गरिएको छ।
यसअघि २०८२ भदौ ३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारत र चीनबीच लिपुलेक नाका हुँदै सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति भएको थियो। नेपालको सहमति नलिई नेपाली भूभाग प्रयोग गर्ने समझदारी गरिएको भन्दै नेपाल सरकारले त्यसबेला औपचारिक आपत्ति जनाएको थियो।
नेपालको विरोध र कूटनीतिक असन्तुष्टि कायमै रहेका बेला भारत र चीनले व्यापार पुनः सञ्चालन गरेपछि लिपुलेकसम्बन्धी त्रिदेशीय सीमा विवाद फेरि सतहमा आएको छ।

