काठमाण्डौ । मार्जिन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट ४९ ब्रोकर कम्पनीले अनुमति पाएका छन् ।
सेयर लगानीकर्ताले आफ्नै पूँजी मात्र नभई ब्रोकर कम्पनीबाट प्राप्त ऋण (मार्जिन) समेत प्रयोग गरेर लगानी गर्न सक्ने व्यवस्था छ । नेप्सेका अनुसार हाल ४९ कम्पनीले मार्जिन कारोबारका लागि अनुमति पाएपनि सबैले यो सुविधा भने सुरु गरिसकेका छैनन् ।
न्यूनतम चुक्तापूँजी, नेटवर्थ, जोखिम व्यवस्थापन प्रणाली लगायतका मापदण्ड पुरा गरेबमोजिम उक्त ब्रोकरहरुले मार्जिन कारोबारका लागि अनुमति प्राप्त गरेका हुन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ लागू गरेपछि ब्रोकर कम्पनीहरुले मार्जिन कारोबारको अनुमति लिएका हुन् ।
नेपालमा मार्जिन कारोबारको व्यवस्था सेबोनको नियम तथा नेप्से र सम्बन्धित ब्रोकर कम्पनीहरुमार्फत लागू गरिन्छ । यो सुविधा सबै लगानीकर्ताले भने स्वतः पाउँदैनन् । यसका लागि तोकिएको मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।
नेप्सेका अनुसार अनुमति पाएका ४९ ब्रोकरमध्ये हाल ३ वटाले मात्रै मार्जिन कारोबारको सुविधा दिएका छन् । जसमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
अनुमति लिएका ४९ ब्रोकर
नेप्सेका अनुसार हालसम्म ४९ वटा ब्रोकरले अनुमति लिइसकेका छन् । जसमा क्रिष्टल कंचनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दीपशिखा धितोपत्र कारोबार कम्पनी, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रवी सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, सुन्धारा सेक्युरिटिज र क्रियटिभ सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, त्रिशक्ति सेक्युरिटिज, एबीसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, सनि सेक्युरिटिज, ओपल सेक्युरिटिज, कालिका सेक्युरिटिज, नबिल स्टक डिलर, नागरिक स्टक सेक्युरिटिज, एनआईएमबि स्टक मार्केट्स, हिमालयन सेक्युरिटिज, कलश स्टक मार्केट, एसपीएस सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सजिलो ब्रोकर, माछापुच्छ्रे सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, नेपाल स्टक हाउस, ऐएफ सेक्युरिटिज, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल, सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, रोडसो सेक्युरिटिज, साउन एसियन बुल्स, केबीएल सेक्युरिटिज, एशियन सेक्युरिटिज र शुभकामना सेक्युरिटिजले पनि नेप्सेबाट मार्जिन कारोबारको लागि अनुमति पाएका छन् ।
अनुमति धेरै सेवा कम, लगानीकर्ताले पाएनन् सुविधा
नेप्सेका अनुसार हालसम्म ४९ वटा ब्रोकरले मार्जिन कारोबारको लागि अनुमति पाइसकेका छन् । तर हालसम्म तीन ब्रोकरले मात्रै मार्जिन लेन्डिङको सुविधा दिएको नेप्सेले जनाएको छ ।
लाइसेन्स प्राप्त गर्ने र सेवा दिने ब्रोकरको अनुपात धेरै फरक देखिएको छ । लाइसेन्स पाएका ब्रोकरमध्ये जम्मा ३ ब्रोकर अर्थात् ६.१२ प्रतिशत कम्पनीले मात्रै यो सुविधा दिंदा सेयर लगानीकर्ताहरुले मार्जिन लेन्डिङको सुविधा पाउन सकेका छैनन् ।
असार मसान्तको दबाब सकिएपछि पनि ब्रोकरहरुले अझै हिसाब मिलान गर्न नसक्दा मार्जिन लेन्डिङको सुविधा लगानीकर्तालाई दिन नसकेको लगानीकर्ताहरुको गुनासो छ ।
सेयर लगानीकर्ता तथा बजार विज्ञ प्रकाश रजौरेले ब्रोकरहरुले समयमै मार्जिन कारोबारको सुविधा नदिंदा पूँजीबजारमा कारोबार रकम बढ्न नसकेको बताए ।
‘यतिबेला बजारमा डिमाण्ड कम सप्लाई बढी छ, ब्रोकरहरुको हिसाब मिलान नहुँदा झै अपेक्षित रकम बजारमा आउन सकिरहेको छैन’ उनले भने, ‘ब्रोकरहरुले छिट्टै क्रेडिट रेटिङ गराई अब मार्जिन कारोबारको सुविधा दिनुपर्छ, तबमात्रै बजारमा डिमाण्ड बढ्ने देखिन्छ । लगभग ५० ब्रोकरले मार्जिन लेन्डिङको अनुमति पाएपनि यो सुविधा लगानीकर्तालाई दिन नसक्दा लाइसेन्स पाएको कुनै अर्थ रहँदैन र बजारमा पनि यसको प्रभाव देखिदैन ।’
१२ वटाले लिए आशयपत्र
मार्जिन कारोबार अनुमतिका लागि नेप्सेबाट १२ वटा ब्रोकर कम्पनीले भने आशयपत्र लिइसकेका छन् ।
जसमा प्रिमियर सेक्युरिटिज, इक्डेक्स सेक्युरिटिज, ब्रिलियन्ट सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी, प्रोपर्टी बिजार्ड, ब्लुचिप सेक्युरिटिज, सेवा सेक्युरिटिज, सिटिजन्स सेयर ब्रोकर, स्वर्णलक्ष्मी सेक्युरिटिज, मार्केट सेक्युरिटिज एक्सचेञ्ज कम्पनी, पाही इन्भेष्टमेन्ट र मिल्की वे सेयर ब्रोकर कम्पनी छन् ।

