काठमाण्डौ । संघीय संसद्अन्तर्गतका चार विषयगत समितिको बैठक आज बस्दैछ। विभिन्न विधेयक, साइबर सुरक्षा, नेपाल राष्ट्र बैंक ऐन संशोधन तथा समितिमा दर्ता भएका उजुरीमाथि छलफल गर्न बैठक आह्वान गरिएको हो।
संघीय संसद् सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यसूची रहेको छ।
उही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरिनेछ।
अपराह्न १ बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफललाई निरन्तरता दिइनेछ।
यस्तै, अपराह्न २ बजे सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। बैठकमा समितिमा प्राप्त उजुरीहरूमाथि छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

