काठमाण्डौ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र बढी मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढेको भन्दै उपभोक्ता मञ्च नेपालले तत्काल हस्तक्षेप गर्न सरकारसँग माग गरेको छ।
मञ्चका प्रवक्ता उज्वलराज गौतमले सोमबार जारी गरेको विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति नियमित रूपमा भइरहेको अवस्थामा समेत उपभोक्ताले सहज रूपमा सिलिन्डर नपाउनु गम्भीर विषय भएको उल्लेख छ।
आपूर्ति सहज रहेको दाबी गरिए पनि सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्न बाध्य हुनु र बजारमा ग्यासको उपलब्धता ठप्पजस्तै देखिनुले कृत्रिम अभाव सिर्जना गरिएको आशंका बलियो बनेको मञ्चको भनाइ छ।
मञ्चले ग्यास लुकाउने, अनावश्यक सञ्चित गर्ने र तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने बिचौलिया तथा व्यापारीको पहिचान गरी कडा कारबाही गर्न आग्रह गरेको छ। साथै, बजारमा ग्यासको नियमित र सहज वितरण सुनिश्चित गर्न प्रभावकारी अनुगमन गर्नुपर्ने माग पनि गरिएको छ।
चाडपर्व नजिकिँदै गर्दा तथा विपद्को समयमा दैनिक उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धि हुनु दुःखद भएको जनाउँदै मञ्चले नियमनकारी निकायहरू प्रभावहीन बनेको आरोप लगाएको छ।
केही समययता चामल, दाल, खानेतेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डालगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढाइएको मञ्चको दाबी छ।
व्यवसायीहरूले वर्षा र ढुवानी खर्चलाई मूल्यवृद्धिको कारण देखाए पनि त्यसको ठोस र औचित्यपूर्ण आधार प्रस्तुत गर्न नसकेको मञ्चले जनाएको छ।
मञ्चले बजारमा भइरहेको अनुचित मूल्यवृद्धि, नाफाखोरी, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायहरूको संयुक्त तथा प्रभावकारी अनुगमन टोली तत्काल परिचालन गर्न माग गरेको छ।
बिनाआधार बढाइएको चामल, दाल, तेल, चिनी र तरकारीलगायत खाद्य वस्तुको मूल्य तत्काल पुरानै अवस्थामा फर्काउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, विद्युत् खपतको खर्च तथा सवारी र ढुवानी भाडाबाट उपभोक्तामाथि परेको दोहोरो आर्थिक भार कम गर्न राहत र सहजीकरणका कार्यक्रम ल्याउन पनि सरकारसँग आग्रह गरिएको छ।
आमउपभोक्ताको चुलो र जीवनस्तरसँग जोडिएका विषयमा सरकारले तत्काल कदम नचाले उपभोक्ताको हकहित रक्षाका लागि सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत मञ्चले दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।