काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। बैठकमा वार्षिक प्रतिवेदन पेस गर्नुका साथै भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन(९आर्थिक वर्ष २०८१/८२) पेस गर्नेछिन्।
त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको सुनिश्चितता गर्न, उचित क्षतिपूर्ति र स्थायी पुनःस्थापनाको व्यवस्था गर्न तथा वास्तविक भूमिहीन र सुकुम्वासीलाई तत्काल लालपूर्जा वितरण गर्न सरकारसँग माग गरिएको छ।
उक्त प्रस्तावको समर्थन सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।