काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गत आवको चौथो त्रैमाससम्म घाटामा गएको छ । बैंक उक्त अवधिसम्म २४ करोड १२ लाख रुपैयाँ घाटामा गएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ८७ करोड २३ लाख रुपैयाँ नाफामा थियो ।
बैंक घाटामा गएतापनि खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ९ अर्ब २६ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने बैंकले ७ अर्ब १९ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १६ करोडबाट घटेर ७ अर्ब ७२ करोडमा सीमित बनेको छ । यस्तै सञ्चालन मुनाफा पनि १ अर्ब ८५ करोडबाट घटेर १ अर्ब ५९ करोडमा सीमित बनेको छ ।
२३ अर्ब ५४ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको बैंकको रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक अवस्थामा छ । बैंकको रिजर्भको आकार १२।९८ प्रतिशतले बढेर १५ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा छ । बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक बनेको छ ।
बैंकको खराब कर्जा अनुपात ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ । बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । निक्षेप संकलन ३ खर्ब ४२ करोडबाट बढेर ३ खर्ब ४८ अर्ब पुगेको छ । यस्तै अघिल्लो आवमा २ खर्ब २५ अर्ब रहेको कर्जा प्रवाह २ खर्ब १४ अर्ब पुगेको छ ।
समीक्षा अवधिसम्ममा बैंकको प्रतिसेयर आम्दानी १.०२ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैयाँ र तरलता अनुपात ४३.२२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।