काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साउन महिनामा पनि उच्च देखिएको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन्।
विभागको तथ्यांकअनुसार साउनमा पहिलोपटक वैदेशिक रोजगारीमा जान ४२ हजार ६९३ जनाले श्रम स्वीकृति लिएका छन्। यस्तै, यसअघि वैदेशिक रोजगारीमा गएर पुनः जानका लागि २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
साउनमा म्यानपावर कम्पनीमार्फत २९ हजार ४४७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, १२ हजार ४४२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने प्रक्रिया पूरा गरेका छन्।
सरकार–सरकारबीचको सम्झौता अर्थात् ‘जीटुजी’ प्रणालीमार्फत ७१२ जनाले श्रम स्वीकृति लिएका छन्।
साउनमा सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। विभागको तथ्यांकअनुसार यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्।
त्यस्तै, मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६० र साउदी अरबका लागि ८ हजार ६१३ जनाले श्रम स्वीकृति लिएका छन्।
गत असारमा ६९ हजार ३६२ जनाले श्रम स्वीकृति लिएका थिए। यस आधारमा साउनमा श्रम स्वीकृति लिनेको संख्या असारको तुलनामा १ हजार ७९ जनाले बढेको देखिन्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।