काठमाण्डौ । विश्व फुटबलका सुपरस्टार किलियन एमबाप्पेले करिब दुई दशक लामो सम्बन्ध अन्त्य गर्दै नाइकी छाड्ने तयारी गरेको खबरले फुटबल बुट तथा खेलकुद बजारमा तरंग ल्याएको छ।
फ्रान्सेली स्टार एमबाप्पेले आठ वर्षको उमेरदेखि नै अमेरिकी खेल सामग्री निर्माता नाइकसँग सहकार्य गर्दै आएका थिए। उनी नाइक फुटबलको पछिल्लो पुस्ताका प्रमुख ब्रान्ड एम्बेसडरसमेत बनेका थिए। तर, विभिन्न रिपोर्टअनुसार उनको नाइकीसँगको सम्झौता गत जुलाई ३१ मा समाप्त भएको र त्यसपछि नवीकरण नभएको बताइएको छ।
एमबाप्पेको सम्भावित नयाँ गन्तव्यले भने यो घटनालाई थप चर्चामा ल्याएको छ। उनी नाइकीका परम्परागत प्रतिस्पर्धी एडिडास वा पुमासँग जोडिने नभई स्विट्जरल्यान्डको खेलकुद ब्रान्ड अनसँग सहकार्य गर्न सक्ने चर्चा छ।
यदि यो सम्झौता पुष्टि भएमा फुटबल बुट बजारमा अनको यो पहिलो ठूलो प्रवेश हुनेछ। दौडने जुत्ताका लागि चर्चित रहेको इल ले पछिल्लो दशकमा तीव्र विस्तार गर्दै विश्व खेलकुद बजारमा आफ्नो प्रभाव बढाएको छ।
एमबाप्पेले बाल्यकालमै नाइकीसँग बुट सम्झौता गरेका थिए। पेरिसको बाहिरी क्षेत्रमा रहेको बोन्डी क्लबबाट फुटबल यात्रा सुरु गरेका उनले मोनाकोबाट व्यावसायिक फुटबलमा उदाउँदा पनि नाइकीकै बुट प्रयोग गरेका थिए।
सन् २०१८ को विश्वकपमा फ्रान्सलाई उपाधि दिलाउँदा उनी नाइकीकै बुटमा थिए। त्यसैगरी, २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दा पनि उनको खुट्टामा नाइकीकै बुट थियो।
पेरिस सेन्ट जर्मेन हुँदै रियल म्याड्रिड पुगेपछि एमबाप्पे नाइकीको फुटबल उत्पादनको प्रमुख अनुहार बने। क्रिस्टियानो रोनाल्डोको करियरको उत्तरार्धसँगै नाइकले एमबाप्पेलाई आफ्नो फुटबल ब्रान्डको नयाँ पुस्ताको प्रमुख स्टारका रूपमा अघि सारेको थियो।
कम्पनीले अहिलेसम्म एमबाप्पेका नाममा १२ वटा फरक ‘सिग्नेचर बुट’ सार्वजनिक गरिसकेको छ। अगस्टको सुरुवातमा सार्वजनिक गरिएको सुनौलो रंगको मरक्युरियउल सुपर फ्लाइ११ उनको नाइकसँगको अन्तिम सिग्नेचर बुट बन्न सक्ने अनुमान गरिएको छ।
एमबाप्पे अनमा आबद्ध हुने चर्चा मात्रले पनि उद्योगमा ठूलो चासो पैदा गरेको छ। फ्रान्सेली खेल पत्रकार थिबो भेजिरियनको दाबीअनुसार एमबाप्पे र अनबीचको सम्भावित सम्झौता सामान्य प्रायोजन सम्झौताभन्दा फरक हुन सक्छ।
सम्भावित सम्झौताअनुसार एमबाप्पेले इल मा सेयर स्वामित्व प्राप्त गर्नुका साथै आफ्नै ‘सब–ब्रान्ड’ अन्तर्गत सिग्नेचर फुटबल बुट विकास गर्ने अवसर पाउन सक्ने बताइएको छ।
यस्तो संरचना कार्यान्वयन भए एमबाप्पे केवल ब्रान्डको अनुहारमा सीमित रहने छैनन्। उत्पादन विकास, डिजाइन, बजार रणनीति तथा ब्रान्ड निर्माणमा समेत उनको प्रत्यक्ष प्रभाव हुन सक्नेछ।
यसले एमबाप्पेलाई खेलाडीबाट उद्यमीको भूमिकामा समेत थप अगाडि लैजान सक्छ। डियर, ओकले र इए स्पोर्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डसँग व्यावसायिक साझेदारी गरिसकेका एमबाप्पेको व्यवसायिक पोर्टफोलियो यसअघि नै निकै ठूलो छ।
एमबाप्पेको सम्भावित कदमले स्विस टेनिस लिजेन्ड रोजर फेडेररसँग अनको पुरानो सहकार्यलाई समेत सम्झाएको छ।
सन् २०१९ मा फेडेररले लामो समयको नाइक सम्बन्ध अन्त्य गर्दै अनसँग सम्झौता गरेका थिए। उनले अनमा करिब ५ करोड अमेरिकी डलर लगानी गरी कम्पनीमा करिब ३ प्रतिशत हिस्सेदारीसमेत लिएको रिपोर्ट सार्वजनिक भएको थियो।
एमबाप्पेको सम्भावित सम्झौता भने अझ ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। फेडेररले टेनिस करियरको अन्तिम चरणतिर अन रोजेका थिए भने एमबाप्पे अहिले पनि आफ्नो फुटबल करियरको उच्चतम चरणमा छन्।
अनको सम्भावित फुटबल प्रवेशले एडिडास, नाइक र पुमाजस्ता स्थापित ब्रान्डको वर्चस्व रहेको बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्न सक्छ।
यसअघि अमेरिकी ब्रान्ड स्केचर्सले पनि फुटबल बुट बजारमा प्रवेश गर्दै इङ्ल्यान्डका स्टार ह्यारी केनसँग दीर्घकालीन सम्झौता गरेको थियो। सन् २०२३ मा भएको उक्त सम्झौतालाई खेलकुद बजारमा ‘डिसरप्टिभ’ कदमका रूपमा हेरिएको थियो।
एमबाप्पे अनसँग आबद्ध भए भने त्यसले नयाँ ब्रान्डलाई तत्काल विश्वव्यापी पहिचान दिलाउन सक्ने खेलकुद बजारका विज्ञहरूको धारणा छ। रियल म्याड्रिडका प्रत्येक खेल, च्याम्पियन्स लिगका ठूला मुकाबिला र फ्रान्सको अन्तर्राष्ट्रिय खेल अनका लागि विश्वव्यापी प्रचारको माध्यम बन्न सक्नेछन्।
यद्यपि, एमबाप्पे र अनबीचको सम्झौता हालसम्म औपचारिक रूपमा पुष्टि भइसकेको छैन। तर, यदि चर्चा गरिएअनुसार एमबाप्पेले अनसँग इक्विटी, आफ्नै बुट ब्रान्ड र उत्पादन विकासमा प्रभावसहितको सम्झौता गरे भने यो फुटबल बुट उद्योगमा सामान्य प्रायोजनभन्दा धेरै ठूलो व्यवसायिक मोड बन्न सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।