काठमाण्डौ । वाणिज्य बैंकहरुले बैंकिङ कारोबारबाट मात्रै होइन, वित्तीय बजारमा गरिने कारोबारबाट पनि राम्रो आम्दानी गरेका छन् ।
बैंकहरुले विशेषगरी सेयरबजार वा अन्य वित्तीय उपकरणको कारोबारबाट उल्लेख्य आम्दानी गरेका छन् । गत आर्थिक वर्ष २०८२–८३ मा २० वाणिज्य बैंकले १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ ‘नेट ट्रेडिङ’ आम्दानी गरेका छन् ।
यो कमाई अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.९७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी ९ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ थियो ।
ट्रेडिङ आम्दानी वृद्धिमा मुख्यगरी मुद्रा बजार, ट्रेजरी कारोबार तथा विदेशी विनिमयसम्बन्धी कारोबारको भूमिका महत्वपूर्ण देखिएको छ । बैंकहरूले सेयर तथा अन्य वित्तीय उपकरणको कारोबारबाट समेत आम्दानी गरेका छन् । नेपाल राष्ट्र बैंकले नन–डेलिभरेबल फर्वार्ड (एनएफडी)मा लगानी गर्न पाउने सीमा बढाएपछि केही बैंकको ट्रेडिङ आम्दानीमा थप सुधार देखिएको हो ।
बैंकले सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा वा अन्य वित्तीय उपकरण किनबेच गर्दा कमाएको नाफा र भएको घाटा हिसाब गरेपछि बाँकी रहने रकम नै नेट ट्रेडिङ इनकम हो ।
आर्थिक वर्ष २०८२÷८३ मा नेपालका २० वाणिज्य बैंकको कुल नाफा करिब ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशत बढी हो । बैंकहरूको ब्याजबाट हुने आम्दानीमा अपेक्षाकृत दबाब रहेको अवस्थामा गैरब्याज आम्दानीका स्रोतले नाफा बढाउन सहयोग गरेका छन् ।
गत आर्थिक वर्षमा कृषि विकास बैंक बाहेक सबै बैंकको यस्तो आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस्तो गैरब्याज आम्दानीको स्रोतबाट मात्रै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४२.२३ प्रतिशत बढी हो ।
त्यस्तै, नबिल बैंक, लक्ष्मी सनराईज बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि यस्तो क्षेत्रबाट एक अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।
वृद्धिदरका आधारमा भने राष्ट्रिय वाणिज्य बैंक अग्रपंत्तिमा रहेको छ । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा यस्तो आम्दानी १३८.९३ प्रतिशतले बढाएको । यता कृषि विकास बैंकको भने यस्तो आम्दानी ७२.७२ प्रतिशत घटेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।