काठमाण्डौ । नेपाल टेलिकमले एकैपटक हजारौ टेलिफोन तथा मोबाइल प्रयोगकर्ताहरुलाई बढीमा एक मिनेटसम्मको Pre-Recorded व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजको रुपमा पठाउन सकिने Outbound IVR (Interactive Voice Response) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकहरुका लागि उपयोगी हुनेछ ।
कम्पनीले केही समय देखि आन्तरिक प्रयोजनका लागि परीक्षण स्वरुप सञ्चालन गरिरहेको यस सेवालाई व्यावसायिक रुपमा सञ्चालनमा ल्याएको हो ।
यो एक प्रकारको सामूहिक सूचना प्रणाली हो । कुनै सूचना, परीक्षाको नतिजा वा प्रवद्र्धनात्मक सामग्री आदि धेरै व्यक्तिहरुमा पुर्याउनका लागि यो सेवा उपयोगी छ । कुनै पनि कार्यालय, व्यवसायी वा सूचना प्रवाहकर्ताले यसका लागि कल गर्नुपर्ने नम्बरहरुको सूची र सन्देश सहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराएर निश्चित प्रक्रिया पुरा गरे पश्चात यो सेवा उपलब्ध हुन्छ ।
यस Outbound IVR सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको फोनमा सन्देश आउँदा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता रहेको मोबाइल वा टेलिफोन नम्बर नै कलर आईडीको रुपमा देखिन्छ । सेवा सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले हाललाई दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फारम भरी यो सेवा लिन सक्नेछन् ।
सेवा प्रदायक वा ग्राहकले तोकेको नम्बरहरुमा स्वचालित रुपमा कल गर्न सकिने यस प्रकृतिको सेवाको माग बढ्दै जाने कम्पनीको विश्वास छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।