काठमाण्डौ । सिद्धार्थनगर, रुपन्देहीमा सञ्चालित पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
बुद्ध रिजेन्सीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले सर्वसाधारणबाट कुल १५ करोड रुपैयाँ पुँजी संकलन गर्नेछ।
सेयर निष्काशनसम्बन्धी सम्झौतामा बुद्ध रिजेन्सी लिमिटेडका तर्फबाट सञ्चालक सुनिल अग्रवाल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। भदौ २५ गते काठमाण्डौको नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार बुद्ध रिजेन्सीको प्रस्तावित साधारण सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटलले सम्हाल्नेछ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी निकट भविष्यमा सेयर निष्काशन गर्ने जनाएको छ।
बुद्ध रिजेन्सी होटल सिद्धार्थनगर (भैरहवा)स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा रहेको पाँचतारे लक्जरी होटल हो। होटलले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन कम्पनी विन्डहम होटल्स एन्ड रिसोर्ट्ससँग साझेदारी गर्दै ‘रमाडा बाइ विन्डहम’ ब्रान्डअन्तर्गत सेवा प्रदान गर्दै आएको छ।
होटलमा पाहुनाका लागि १०० भन्दा बढी सुविधासम्पन्न कोठा उपलब्ध छन्। साथै, विवाह समारोह तथा ‘डेस्टिनेसन वेडिङ’का लागि ठूला बैंक्वेट हल र कर्पोरेट सम्मेलन तथा कार्यक्रमका लागि दुईवटा समर्पित हलसमेत रहेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।