काठमाण्डौ । निप्पोन फर्मास्युटिकल लिमिटेडले प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्ने भएको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
निप्पोन फर्मास्युटिकल लिमिटेड WHO-GM र अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डहरु अनुरुप विभिन्न प्रकारका औषधीहरु जस्तै ट्यावलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम जेल, ओआरएस, ड्राइ सिरप र पेनिसिलिन लगायतका उत्पादन गर्ने प्रमाणित फर्मास्युटिकल कम्पनी हो ।
जसको विधिवध दर्ता २००६ मा भई उद्योग स्थापना २०१७ मा भएको थियो । यस कम्पनीले उच्च गुणस्तरको औषधी तथा अषौधिजन्य उत्पादनहरुको विबिध उत्पादन पोर्टफोलियोको विकास र निर्माण गरेर नेपाली फर्माबजारलाई सम्बोधन गरिरहेको छ ।
स्थापना भएको ५ वर्ष पछि अर्थात् २०२२ देखि आफ्नो व्यावसायिक उत्पादन र मार्केटिङ्ग सुरु गरेको निप्पोन फर्मास्युटिकलले स्थापनाको ४ वर्षमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादनहरुको बजारीकरण गर्न सक्षम भएको छ ।
निप्पोन फर्मास्युटिकल लिमिटेड Wellbeing for All अर्थात् “सवैका लागि सु–स्वास्थ्य” भन्ने मूल नाराबाट निर्देशित यस कम्पनी देश र जनताका लागि आवश्यक पर्ने अधिकांश औषधीहरुमा आत्मनिर्भर बन्न सहयोग गरेर राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई ठूलो मद्दत गरेको छ ।
निष्कासन कम्पनीसंग भएको सो सम्झौता पत्रमा निप्पोन फर्मास्युटिकल लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक मन्टु घिमिरे तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।