काठमाण्डौ । भाइटीकाको दिन आज बुधबार (कात्तिक २५) दिउँसो हिमालदेखि तराईसम्मका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। हिमाली भेगमा हल्का हिमपातसमेत हुन सक्छ। राति वर्षा र हिमपातको सम्भावना मुख्यतः कोशी, बागमती र गण्डकीका हिमाली भेग तथा गण्डकीका पहाडी क्षेत्रमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कहाँ पर्न सक्छ पानी र हिउँ?
कोशी, बागमती र गण्डकीका हिमाली भेगका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का पानी पर्न सक्छ। तराईतर्फ मधेश प्रदेश तथा कोशी र बागमतीका तराई भेगका एक–दुई स्थानमा यस्तै सम्भावना छ।
राति गण्डकीको पहाडसम्म वर्षाको सम्भावना
राति गण्डकीका हिमाली र पहाडी भेग तथा कोशी र बागमतीका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।
भाइटीका सकेर बिहीबार सबेरै यात्रामा निस्कनेका लागि अर्को चासो हुस्सु र कुहिरो हो। महाशाखाका अनुसार बिहानपख तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।