काठमाण्डौ । नेपालका युवा उद्यमी, प्रविधि विकासकर्ता तथा नवप्रवर्तकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले काठमाण्डौमा दुईदिने ‘सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२६’ आयोजना हुने भएको छ।
मंसिर ३ र ४ गते काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना प्रदर्शन गरिनेछन्।
आईसीटी अवार्ड २०२६ को प्रि–इभेन्टका रूपमा लिभिङ विथ आईसीटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आईसीटी फाउन्डेसनले सनवे एआई कलेजसँगको सहकार्यमा फेस्ट आयोजना गर्न लागेका हुन्। स्टार्टअप फेस्टको यो सातौँ संस्करण हो।
आयोजक समितिका संयोजक राजन लम्सालका अनुसार फेस्टमा सफ्टवेयर, मोबाइल एप्लिकेसन, इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स, ड्रोन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका नवीनतम उत्पादन, सेवा तथा परियोजना प्रदर्शन गरिनेछ।
स्टार्टअपलाई लगानीकर्तासँग जोड्ने विशेष मञ्च
यसपटकको फेस्टलाई प्रविधि प्रदर्शनीमा मात्रै सीमित नराखी स्टार्टअप र सम्भावित लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा समेत विकास गरिएको आयोजकले जनाएको छ।
फेस्टमा स्टार्टअप संस्थापक, भेन्चर क्यापिटल (भीसी) लगानीकर्ता तथा उद्यमीलाई आपसमा जोड्न विशेष ‘स्टार्टअप लाउन्ज’ को व्यवस्था गरिनेछ।
यसबाट लगानीकर्ताले नवीनतम प्रविधि तथा व्यावसायिक योजनाको प्रत्यक्ष अवलोकन गर्दै सम्भावित लगानीका अवसर पहिचान गर्न सक्नेछन्।
त्यस्तै, स्टार्टअप कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने, व्यावसायिक सञ्जाल विस्तार गर्ने र सम्भावित साझेदार तथा लगानीकर्तासँग छलफल गर्ने अवसर पाउनेछन्।
ड्रोन र रोबोटिक्स प्रतियोगिता पनि हुने
दुईदिने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता पनि आयोजना गरिनेछ।
विद्यार्थी, युवा उद्यमी तथा प्रविधिमा रुचि राख्ने व्यक्तिले आफ्ना सिर्जना प्रस्तुत गर्न पाउनेछन्। साथै रोजगारी, इन्टर्नसिप तथा प्रविधिसम्बन्धी नयाँ अवसरबारे जानकारी लिन सकिनेछ।
यस वर्ष प्रदर्शनीसँगै स्टार्टअपसम्बन्धी विशेष सम्मेलन पनि आयोजना गरिने भएको छ।
‘स्टार्टअप पल्स’ नामक सत्रमा मुख्य वक्ताका प्रस्तुति, प्यानल छलफल तथा आइडिया पिचिङका कार्यक्रम सञ्चालन गरिनेछन्।
यी सत्रहरूमा नेपालको स्टार्टअप इकोसिस्टमको अवस्था, उद्यमशीलताको विकास, लगानीका अवसर तथा नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने सम्भावनाबारे छलफल हुनेछ।
आईसीटी अवार्डका ५० भन्दा बढी सेमिफाइनलिस्ट सहभागी हुने
फेस्टमा आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू सहभागी हुनेछन्।
अवलोकनकर्ताले ती स्टार्टअप तथा उत्पादनको प्रत्यक्ष प्रदर्शनी हेर्नुका साथै आफूलाई मन परेका परियोजनामा मतदान गर्ने अवसरसमेत पाउनेछन्।
यसका अतिरिक्त सातै प्रदेशबाट छनोट भएका २५ भन्दा बढी स्टार्टअप पनि प्रदर्शनीमा सहभागी हुनेछन्।
यस वर्ष सामाजिक नवप्रवर्तनका क्षेत्रमा सक्रिय संस्था तथा परियोजनालाई समेत विशेष स्थान दिइनेछ। सामाजिक समस्या समाधानका लागि प्रविधि र सिर्जनात्मक सोचमार्फत विकास गरिएका नयाँ समाधान प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।
मंसिर ५ र ६ गते ग्रान्ड जुरी सेसन
फेस्ट सम्पन्न भएपछि मंसिर ५ र ६ गते आईसीटी अवार्डका चार विधामा छनोट भएका ५० स्टार्टअप तथा नवप्रवर्तन परियोजनाले ग्रान्ड जुरी सेसनमा प्रतिस्पर्धा गर्नेछन्।
उक्त सेसनपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच परियोजना छनोट गरी अवार्डका लागि सिफारिस गरिनेछ।
ग्रान्ड जुरी सेसनलाई हिमालय टेलिभिजनमार्फत विभिन्न एपिसोडका रूपमा प्रसारण गर्ने तयारीसमेत गरिएको छ।
आयोजकका अनुसार यस वर्ष आईसीटी अवार्ड २०२६ का लागि विभिन्न विधामा ७०० भन्दा बढी अनलाइन मनोनयन प्राप्त भएका छन्।
एआईमा आधारित परियोजना विशेष आकर्षण
आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा प्रदान गर्दै आएको सनवे कलेजले पनि फेस्टमा एआईमा आधारित आफ्ना विभिन्न परियोजना प्रदर्शन गर्नेछ।
फेस्टमा ‘टिङटिङ’ र ‘नेपाल पे’ सहकार्य साझेदारका रूपमा जोडिएका छन् भने नेपाली स्टार्टअप कम्पनी सस्तो टिकट ‘पावर्ड बाई’ साझेदारका रूपमा रहेको छ।
आयोजकका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट नेतृत्व, नीतिनिर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता, विद्यार्थी तथा प्रविधिप्रेमीहरूको सहभागिता रहनेछ।
नेपालमै विकसित भइरहेका नयाँ प्रविधि तथा उत्पादनलाई बजारसम्म पुर्याउन, युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न र स्टार्टअपलाई सम्भावित लगानीकर्तासँग जोड्न फेस्टले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।