आईतवार, भाद्र २३,२०८१ 06:20:54
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:20:54
IME remit
Global IME Bank Limited

राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने

Hyundai Nepal
राष्ट्रिय राजनीतिमा फेरि मडारियो अस्थिरताको बादल, गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने
Nabil Bank Limited

काठमाण्डौ । विकसित राजनीतिक घटनाक्रमहरुमा कुनै अवरोध भएनन् वा ट्वीस्ट आएनन् भने संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेबीच गठबन्धन भई नयाँ सत्ता समीरण बन्ने सम्भावना बढेको छ ।  

एमाले, माओवादी, रास्वपा लगायतका दलहरुबीच बनेको अहिलेको सत्तारुढ गठबन्धन जुनसुकै बेला ढल्नसक्ने घटनाहरु रातारात विकास भइरहेका छन् । चाखलाग्दो कुरा के छ भने यसपटक पनि राष्ट्रिय राजनीतिमा पाकिरहेको खिचडी पछाडिको कारक भने अघिल्लो गठबन्धन सरकार ढल्दाको अवस्थाकै जस्तो अर्थमन्त्री बनेका छन् ।  

दोश्रो र तेश्रो कारकको रुपमा क्रमशः गृहमन्त्री रवि लामिछाने र प्रधानमन्त्री प्रचण्ड स्वयम् समेत देखिएका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि विकास हुन थालेका राजनीतिक घटनाक्रमहरुले मूर्त रुप लिए र दक्षिणतिरको शक्ति(भारत)को पल्ला भारि भई उसले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रतिको दृष्टिकोण संसोधन गरेमा राष्ट्रिय राजनीतिमा फेरि एकपटक भूकम्प जाने निश्चित झै देखिएका उच्च स्रोतहरुले जानकारी दिएका छन् ।  

घटनाक्रम केही साताअघिदेखि नै विकास भइरहेको थियो । गठबन्धन सरकार भए पनि सबै निकायहरुको नियुक्तिमा माओवादीले एकलौटी गरेपछि एमाले चिढिएको थियो । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिढ्याउने काम अर्थमन्त्री वर्षमान पुनले गरेका थिए । पुनले गरेको गडबडीलाई सुधार्छु भन्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समेत दोहोरो चरित्र देखाएपछि विशेषतः एमाले अध्यक्ष ओली अहिलेको गठबन्धन टुटाएर कांग्रेससँग मिली नयाँ सरकार बनाउनतर्फ अग्रसर देखिएका स्रोतहरुको दाबी छ ।  

कांग्रेस र एमालेका शीर्ष नेताहरु नै संसदको तेश्रो शक्ति भएर पनि माओवादी अध्यक्ष प्रचण्डले सत्ता नै आफूमाथि केन्द्रीत गरेपछि त्यसलाई अन्त गर्न तथा मतदाताहरुको मतको सम्मानका लागि पनि संसदका दुई प्रमुख शक्ति मिल्नुपर्ने कोणमा छलफल चलाउन थालेका छन् ।  

'सेबोन अध्यक्ष'ले गलफत्ती

सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले माओवादीले विभिन्न सरकारी नियुक्तिहरुमा एकलौटी गरेपछि र सत्ता सञ्चालनको विषयमा समेत समन्वय नगरेपछि चिढिँदै गएको देखिन्छ । यसको उत्कर्ष भने नेपाल धितोपत्र बोर्ड(सेबोन)को नयाँ अध्यक्ष नियुक्तिका क्रममा देखियो ।  

एमाले र माओवादीबीचको गलफत्तीकै कारण अहिले सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द गरेर बजारमा अन्यौल सिर्जना गर्ने काम सरकारबाटै भएको छ ।  

सेबोन अध्यक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही स्वार्थ समूहको प्रभावमा परी सन्तोषनारायण श्रेष्ठलाई बनाउन चाहन्थे । केही समयअघि मात्र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा माओवादीले उसको मानिस नियुक्त गरेपछि सेबोन अध्यक्षमा भने एमालेले गरेको दाबी अस्वभाविक थिएन । तर, सेबोन अध्यक्ष नियुक्तिमा देखिएको करोडौंको खेल र निकै ठूलो चलखेलबाट माओवादी पनि प्रभावित थियो । मुखैमा आएको करोडौं रुपैयाँको डिल माओवादी गुमाउन चाहँदैन थियो । यस्तो डिल पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुगेको स्रोतहरु आरोप लगाउँछन् ।  

करोडौंको डिलको प्रभावले अन्ततः निकै घुमाउरो ढंगले अर्थमन्त्री वर्षमान पुनले एमाले अध्यक्ष केपी ओलीलाई चक्मा दिंदै अध्यक्ष नियुक्तिको जारी प्रक्रिया नै रद्द गर्ने वातावरण बनाए।  

ओलीको निकै ठूलो दवाबपछि भएका छलफलहरुमा प्रधानमन्त्री प्रचण्डले सन्तोषनारायण श्रेष्ठलाई नै अध्यक्ष बनाइने वचन दिएका थिए । ओलीलाई सन्तोषनारायण श्रेष्ठलाई नै अध्यक्ष बनाउँछु भनेका प्रचण्ड रातारात परिवर्तन भएका थिए र अर्थमन्त्री पुनलाई अगाडि सारेर आफ्ना दल निकटका मान्छेलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै बहिस्कार गर्न लगाएका थिए । फलस्वरुप सर्टलिस्टेड ५ उम्मेद्वारमध्ये एमाले निकट २ जना मात्र अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरणमा पुगेका थिए ।  

माओवादी निकटका तीन उम्मेद्वार चिरञ्जिवी चापागार्इं, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारीले दुईपटकसम्म तोकिएको अन्तर्वार्ता नियोजित रुपमा बहिस्कार गरेपछि सेबोन अध्यक्ष नियुक्तिको जारी प्रक्रियाको विषयमा सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो ।  

सेबोन अध्यक्ष नियुक्तिको कानूनी प्रक्रियामा छनौट समितिले आवेदन दिएकामध्ये सर्टलिस्टेड ५ उम्मेद्वारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिकरणको अवसर दिई त्यसबाट ३ जनाको नाम छनौट गरी सरकारलाई सिफारिस गर्नुपर्ने उल्लेख छ । यही कानूनी व्यवस्थाको अपव्याख्या गरी माओवादीले महान्यायाधिवक्ताको कार्यालयको सहयोग लिएर सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द गर्ने खेल खेलेपछि यसले ओलीलाई थप चिढ्याएको छ ।  

ओलीले एमालेकै शीर्ष नेताहरुसँगको कुराकानीमा पछिल्लो समय धेरै विषयहरुमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले दोहोरो चरित्र देखाएको र एमालेलाई नसोधी सरकार चलाएकोमा रुष्ट छन् । यिनै विषयलाई लिएर पछिल्लो समय ओलीले कांग्रेसबाट आउने गरेको प्रधानमन्त्री बन्ने अफरमा सकारात्मक संकेतहरु दिन थालेका छन् ।  

ओली र कांग्रेस सभापति देउवालाई पटक–पटक छलफलमा बस्ने, सम्भावित सत्ता सहकार्य लगायतका महत्वपूर्ण विषयमा वार्ता गराउने अवस्था बनाउने कार्यमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले समन्वय गरिरहेका स्रोतहरुले जानकारी दिएका छन् ।  

एमालेबाट शंकर पोखरेल र विष्णु पौडेल लगायतका नेताहरु कांग्रेससँग सत्ता सहकार्य गरेर जानुपर्छ भन्ने लाइन बोकेर देउवा र ओलीका छलफलहरुमा समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् ।  

दुवै दलका दोश्रो तहका नेताहरुको प्रयासकै कारण ओली र देउवाबीच पटक–पटक अनौपचारिक छलफल भइसकेको छ । हिजो मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजूलाई लिएर बालकोटस्थित ओली निवास पुगेका थिए । त्यहाँ ओली र देउवाबीच २ घण्टाभन्दा लामो छलफल चलेको थियो ।  

रवि लामिछाने फ्याक्टर

पछिल्लो समय ओली र देउवालाई नजिक बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेको भूमिकाले काम गरेको स्रोत बताउँछ ।  

पहिलोपटक सरकारमा सहभागी हुँदा लामिछाने एमाले अध्यक्ष ओलीको इशारामा काम गर्थे । महत्वपूर्ण निर्णय पनि ओलीलाई सोधेर मात्र गर्थे । तर पछिल्लोपटक सरकार सहभागी भएपछि भने लामिछानेले ओलीलाई भाउ दिन छाडेका स्रोत दाबी गर्छ । ओलीले सुनियोजित ढंगले आफ्नो पार्टीलाई सिध्याउन खोजेको र महासचिव मुकुल ढकाललगायतलाई उचालेर पार्टीको छवि धूमिल बनाउने प्रयास गरेको लगायतका बुझाई लामिछानेमा रहेको स्रोत दाबी गर्छ । यहीकारण सरकार सञ्चालनका क्रममा लामिछानेले प्रचण्डसँग सहकार्य गर्न थालेका छन् । प्रचण्डले पनि लामिछानेको मन्त्रालयको काममा कुनै हस्तक्षेप नगरेपछि उनीहरुबीच निकटता बढेको छ । प्रचण्ड र लामिछाने निकट हुन थालेपछि ओली रुष्ट छन् । आफैंले अडान लिएर उपप्रधान तथा गृहमन्त्री बनाएको, तर आफैंले बनाएको मान्छेले पछिल्लो समय धोका दिन थालेको ओलीले बुझेपछि कांग्रेससँगको सहकार्य सम्भव हुन थालेको हो ।  

ओली पछिल्लो समय कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्नेसम्मको योजना रहेका दाबी गरिएको छ । 

कांग्रेस निकट एक स्रोतका अनुसार पछिल्लो समय सभापति देउवाले लिखित रुपमै सरकारको नेतृत्व गर्न ओलीलाई आग्रह गरिसकेका छन् । ओलीले त्यसमा सकारात्मक जवाफ दिएपछि ब्याक टू ब्याक छलफलहरु भइरहेका हुन् ।  

भारत फ्याक्टर

प्रमुख दुई कम्युनिष्ट एमाले र माओवादीबीचको गठबन्धन बनाएर दीर्घकालमा बाम एकतासम्मको रणनीतिमा चीननजिकको शक्ति सफल भएपछि अहिलेको गठबन्धन सरकार सम्भव भएको थियो ।  

कम्युनिष्टहरुको सरकार बनेपछि चीनले पछिल्लो समयमा आफ्नो गतिविधि तीव्र पारेको छ । चौतर्फी चिनियाँ प्रभाव बढ्न थालेपछि दक्षिणतिरको शक्ति भारत भने सशंकित देखिएको छ । चिनियाँ रणनीति सफल भई आफूहरु कमजोर बनेपछि भारतीय शक्तिहरु पछिल्लो समय कम्युनिष्टको गठबन्धन भत्काएर नयाँ सरकार बनाउन चाहन्छन् । यसका लागि ती शक्तिहरुले पनि भित्रभित्रै प्रयास गरिरहेका स्रोत दाबी गर्छ ।  

भारतीय शक्तिको चलखेलकै कारण पछिल्लो समय एमाले र कांग्रेसबीचको निकटता बढेको स्रोतले जनाएको छ ।  

तर, भारतीय पक्ष केपी ओलीलाई प्रधानमन्त्री दिएर अगाडि बढ्न नहुने पक्षमा देखिन्छ । भारतले ओलीलाई ‘कम्फरटेबल पात्र’को रुपमा नहेर्दा केही समस्या देखिएको कांग्रेसका एक नेताले जानकारी दिए ।  

ओली स्वयम्ले भने विभिन्न दूतहरु परिचालन गरी आफूलाई समस्याको रुपमा नहेर्न भारतीय शक्तिहरुलाई सन्देश पठाउन थालेका छन् । यदि भारतीय पक्ष ओलीप्रति केही सकारात्मक देखिएको खण्डमा त्यसको केही दिनमै अहिलेको सरकार ढल्ने उच्च स्रोतहरुले ठोकुवा गरेका छन् ।  

नक्कली शरणार्थी फ्याक्टर

अहिलेको सत्तारुढ गठबन्धनमा दरार पैदा गर्ने अर्को फ्याक्टर नक्कली भूटानी शरणार्थी प्रकरण पनि हो ।  

गृहमन्त्रीको रुपमा आएपछि रवि लामिछानेले यो प्रकरणलाई समेत निकै चासोका साथ हेरिरहेका छन् । यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा पनि मुछिएकी छिन् । सबै प्रमाण जुटाएर लामिछाने आरजूलाई पक्राउ गरी राजनीतिक लाभ लिने दाउपेचमा छन् । यही कुराको सूइँको पाएका कारण जब–जब नक्कली भूटानी शरणार्थी प्रकरणमा नयाँ–नयाँ राज खुल्छन्, तब–तब देउवा र उनकी पत्नीको सक्रियता बढ्ने गर्छ ।  

माओवादी नेतृत्वको सरकार रहँदासम्म यो प्रकरण चर्किरहने र परिवारमा तनाव भइरहने देखेका कांग्रेस सभापति देउवाले बरु एमालेलाई प्रधानमन्त्री जिम्मा लगाएरै भए पनि नयाँ गठबन्धन बनाउने योजना बनाएका स्रोत दाबी गर्छ । उनको यो चाहनामा पछिल्लो समय ओली समेत सकारात्मक बन्दै गएपछि अहिलेको सत्ता गठबन्धन जुनसुकै बेला ढल्नसक्ने देखिएको छ ।  

यसअघि प्रकाशित समाचार :

 

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X