काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको, ह्याविट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा जारी गर्ने तयारी गरेको हो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र बाँकी १० प्रतिशत अर्थात ५ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।
यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटलंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
ह्याविट्याट पावर कम्पनीले निर्माण गर्दै गरेको, पाँचथर जिल्लामा अवस्थित,९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जलविद्युत आयोजनाको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यहि आवको चैत्र मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजना सम्पन्न गरिसक्दा प्रति मेवा लागत १९ करोड रुपैयाँ मात्र रहेको छ ।