काठमाण्डौ । बैंकले कुनै पनि व्यक्तिलाई सेयर कारोबारका लागि कर्जा उपलब्ध गराउन सक्छ । उक्त कर्जालाई नै सेयर धितो कर्जा भनिन्छ। बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ।
बैंकले धितोमा राख्ने सेयरको मूल्यांकन (भ्यालुएसन) गरेर त्यसको जोखिम मूल्यांकन गरी कर्जा उपलब्ध गराउँछ। यसरी लगानीकर्ताले आफ्नो पूँजी लगानी नगरी बैंकबाट लिएको कर्जाबाट नै सेयर कारोबार गर्न सक्छन् ।
धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ । सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम गर्न सकिन्छ ।
सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्दछ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड (कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाबाट कुल) कायम रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।