काठमाण्डौ । जापानको इशिकावा प्रान्तका केही भागमा कीर्तिमानी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता भएका छन् ।
गत जनवरी १ मा आएको विकानकारी भुकम्पबाट माथि उठ्न खोजिरहेको वाजिमा र सुजु सहरहरू बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँ शनिबारदेखि सोमबारसम्म निरन्तर वर्षा भएको छ ।
भारी वर्षाका कारण दर्जनौं नदीहरूका जलस्तर बढेको छ । जसका कारण सडकहरु जलमग्न भएका छन् । बाढीमा परी मृत्यु भएका मध्ये दुईजना वाजिमामा पहिरोले पुरिएको सुरुङ नजिकै फेला परेका थिए । तीमध्ये एक सडक मर्मत गर्ने कामदार थिए।
जापान टाइम्सले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्य मृत्युमध्ये दुई वृद्ध पुरुष र एक वृद्ध महिला रहेको जनाएको छ।
बाढीको पानीले नयाँ वर्षको दिन गएको भूकम्पमा घरबार गुमाएका मानिसहरूका लागि बनेका अस्थायी आवासहरू डुबानमा परेका छन् । होकुरिकु इलेक्ट्रिक पावर कम्पनीका अनुसार सोमबार झण्डै ४ हजार घरधुरी बिजुलीविहीन भएका छन् ।
वाजिमा, सुजु र नोटो सहर सहित इशिकावाका ४ सहरका ४० हजार भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
इशिकावाको उत्तरमा निगाटा र यामागाटा प्रान्तका अन्य १६ हजार बासिन्दाहरूलाई पनि बसोवास गरिरहेको स्थान खाली गर्न भनिएको छ ।