-डेबुला केमोली(बीबीसी विश्व सेवा)
गत एप्रिल महिनादेखि विश्वव्यापी रूपमा नै सुनको मूल्यले दिनदिनैजसो मूल्यमा नयाँ कीर्तिमान राख्दै आएको छ। अहिले सुनको मूल्य प्रतिआउन्स ४,२०० डलर नाघिसकेको छ। नेपालमा पनि सुनको मूल्य प्रतितोला २.५ लाख रुपैयाँ पुगेको छ।
विश्वभरि देखिएको राजनीतिक र आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू लगानीको सुरक्षित अवसरहरू खोजीमा छन्। तर के सुन साँच्चिकै लगानीको सुरक्षित उपाय हो त ?
झन्डै छ महिनाअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबै देशबाट अमेरिकामा गरिने आयातमा अतिरिक्त भन्सार ट्यारिफ लगाउने योजनाको घोषणा गरेयता विश्वबजार धरमराउन पुगेको छ।
तर विश्लेषकहरूका अनुसार लगानीकर्तालाई चिन्तित तुल्याउने अर्को मुद्दा भनेको अमेरिकामा सरकार 'शटडाउन' अर्थात् कारोबार बन्द भएको अवस्थामा महत्त्वपूर्ण आर्थिक तथ्याङ्कहरू सार्वजनिक नहुनु पनि हो।
राष्ट्रपति ट्रम्पको दबावका माझ ब्याङ्कको ब्याजदर खस्किन सक्ने अनुमान पनि सुनको मूल्य बढ्नमा आंशिक रूपमा जिम्मेवार ठानिएको छ। यदि अमेरिकामा ब्याजदर घटाइयो भने नगदले त्यसको वास्तविक मूल्य गुमाउँछ र सुन लागानीका निम्ति त्योभन्दा आकर्षक विकल्पका रूपमा देखिने छ।
परम्परागत हिसाबले नै आर्थिक अप्ठ्यारो र अस्थिर समयमा यो बहुमूल्य धातुलाई विश्वसनीय र तरल सम्पत्तिको रूपमा लिने गरिएको छ।
वित्तबजार तल्लो बिन्दुमा झर्दा सुनप्रति एकाएक "चर्को आकर्षण" देखिन्छ। त्यसो हुँदा सरकारहरू र व्यक्तिगत लगानीकर्ताहरू समेत ठूलो सङ्ख्यामा ग्राहकहरूले सुन किन्न खोज्ने गरेको डा फिलिप फ्लाइअर्स बताउँछन्। उनी बेल्फास्ट यूनिभर्सिटीका आर्थिक इतिहासकार हुन्।
तर विश्वबजारमा सुनमा लगानी गर्न चाहनेहरू सबैले यो बहुमूल्य धातु भौतिक रूपमा नै किन्ने गर्दैनन्। केही लगानीकर्ताहरूले ईटीएफ अर्थात् एक्सचेन्ज ट्रेडेड फन्ड्स भनिने वित्तीय उत्पादनमा पैसा लगानी गर्छन्। त्यसलाई सुनको समर्थन प्राप्त हुन्छ।
वर्ल्ड गोल्ड काउन्सिल ट्रेड असोसिएशनका अनुसार यो वर्ष हालसम्म ६४ अर्ब अमेरिकी डलर त्यस्ता ईटीएफमा लगानी भइसकेको छ। त्यो आफैँमा नयाँ कीर्तिमान हो।
डा फ्लाइअर्स भन्छन्, "सुनलाई सुरक्षित लगानी मानिए पनि यो जोखिमरहित छ भन्ने चाहिँ होइन।"
सन् २०२० को ज्यानुअरी महिनामा कोभिड महामारी चर्कँदै गर्दा सुनको मूल्य ह्वात्तै बढेको थियो। तर त्यही वर्षको मार्च महिनासम्म आइपुग्दा त्यो फेरि खस्कन पुग्यो।
तर आर्थिक अनिश्चितताका बेला लगानीको उपायका रूपमा सुनको प्रतिष्ठा कायमै छ। यसका पछाडि यसको मूल्य मात्र कारणका रूपमा रहेको छैन। इतिहासको विभिन्न कालखण्डमा र विभिन्न संस्कृतिहरूमा पनि यसलाई निकै महत्त्व दिइने गरिन्छ। त्यसैले यो धातुको कारोबार सहजै हुन सक्छ।
प्राचीन इजिप्टमा फेरो टुटन्खामुनको सुनौलो मुकुण्डोदेखि लिएर घानाको असान्टीको प्रसिद्ध सुनको आसन अनि भारतको पद्मनाभस्वामीको मन्दिरमा अवस्थित सुनको सिंहासनसम्म यो बहुमूल्य धातुले इतिहासदेखि नै धार्मिक र प्रतीकात्मक महत्त्व बोक्ने गरेको छ।
त्यसैले धेरै मानिसहरूले आफ्नो सम्पत्ति सुरक्षित राख्ने भरपर्दो उपायका रूपमा यो धातुको प्रयोग गर्दै आउनु अचम्म मान्नु पर्ने विषय रहेन।
तर विश्वव्यापी वित्तबजारमा देखिने उथलपुथलले मानिसहरूको घरमा रहेका सुनका वस्तु र गरगहनाको मूल्य प्रायः प्रभावित हुँदैन।
तर ठूलो लगानीका रूपमा सुनमा पैसा लगाउने कार्य भन्ने ठूला वित्तीय खेलाडीहरूको क्रियाकलापको प्रभावमा पर्न सक्ने जोखिम रहन्छ।
डा फ्लाइअर्स हालै सुनको मूल्यमा देखिएको चर्को वृद्धितर्फ इङ्गित गर्दै भन्छन्, ""यसमध्ये धेरै कुरा मेरो अनुमानमा सरकारहरूका केन्द्रीय ब्याङ्कले गर्ने सुनको खरिदका आधारमा बढ्ने गर्छ।"
अनिश्चित समयमा 'इक्विटी'मा गरिने लगानीबाट तिनले आफ्नो सञ्चितिलाई बलियो बनाउन ठूलो मात्रामा सुन किन्ने गर्छन्।
यसको अर्थ उक्त बहुमूल्य धातुमा लगानीको दृष्टिले पैसा लगाउनु खतरनाक हुन सक्छ।
"सुनको भाउ अझै बढ्छ भन्ने आधारमा लगानी रणनीति बनाउनु अझै जोखिमपूर्ण नै हो किनभने बजार केही साम्य हुनेबित्तिकै र सरकारहरू चनाखो हुँदा मानिसहरूले फेरि सुनमाथिको लगानीलाई ह्वात्तै छाड्ने गर्छन्," डा फ्लाइअर्स भन्छन्।
सिङ्गापुरमा रहेको बहुमूल्य धातुका व्यापारी र भण्डारण सेवा प्रदायक सिल्भर बुलिअनका संस्थापक ग्रेगर ग्रेगरसन भन्छन् उनका धेरैजसो सेवाग्राहीहरू "दीर्घकालसम्म मौज्दात राखिरहनेहरू" हुन्। तिनले चार वर्षभन्दा लामो समयसम्म सुनमाथि गरिएको लगानीलाई कायमै राखिरहने गर्छन्।
वर्तमानको आर्थिक वातावरणलाई हेरेर उनी भन्छन्, "अझै कम्तीमा पाँच वर्षसम्म सुनको मूल्य माथि नै चढिरहन सक्छ। "