काठमाण्डौ । रिमोट डेस्कटप एप्लिकेसन मल्टिपल डेस्कको प्रिमियम भर्सन पनि सावर्जनिक भएको छ । टिमभ्युअर वा एनिडेस्क जस्ता कम्पनीको विकल्पमा जुनेली इंकले नेपालमै मल्टिपल डेस्क सफ्टवेयरको विकास गरेको हो ।
मल्टिपल डेस्क निःशुल्क पनि चलाउन सकिन्छ ।यदी प्रयोगकर्ताहरूलाई थप सुविधा चाहिए पैसा तिरेर प्रिमियम भर्सन समेत खरिद गर्न सक्ने छन् ।
अन्य विदेशी रिमोट डेस्कटप सफ्टवेयरको तुलनामा मल्टिपल डेस्कको प्रिमियम भर्सन धेरै सस्तो रहेको जुनेली इंकका सीईओ अपार थेबेले जानकारी दिए ।
‘निःशुल्क भर्सनले नपुग्ने ग्राहकले प्रिमियम लिन सक्नुहुन्छ । यसको मूल्य पनि हामीले एकदमै सस्तो राखेका छौं,’ उनले भने, ‘अब रिमोट डेस्कटप सफ्टवेयरका लागि विदेशमा पैसा भुक्तानी गर्नुपर्ने छैन् । हामीले नेपालमै विश्वस्तरीय सुरक्षित प्रडक्ट बनाएका छौं ।’
मल्टिपल डेस्कको निःशुल्क भर्सनमा सिंगल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, AES-256 इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् । तर तपाईलाई यी सुविधाले पुग्दैन् भने प्रिमियम भर्सन लिन सक्नुहुन्छ ।
प्रिमियम भर्सन पनि बिजनेस र कर्पोरेट गरी २ वटा छन् । साना तथा मध्यम व्यवसायका लागि ‘बिजनेस भर्सन’ र ठूला ठूला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ छ ।
बिजनेस भर्सनको शुल्क मासिक ६५० रूपैयाँ छ । यसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् ।
यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रूपैयाँ तोकिएको छ । निःशुल्क र बिजनेस भर्सनका सुविधा बाहेक अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा छन् । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ ।

