काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । बैंकले गत आवको उक्त अवधिमा भने ८० करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४.१५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड र सञ्चालन मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ४३ करोड ६३ मा सीमित बनेको छ । बैंकको रिजर्भ भने ६ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । यस्तै कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँबराबर रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ १६१.६ रुपैयाँ, तरलता अनुपात ३१.८७ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ ।

