काठमाण्डौ । चिलीमा आएको भीषण हिमपात, बाढी र तीव्र हावाहुरीका कारण तामा खानी सञ्चालन प्रभावित भएपछि विश्व बजारमा तामाको आपूर्ति संकट थप गहिरिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। अमेरिका र चीनबीच महत्वपूर्ण औद्योगिक धातु तामाको आपूर्तिका लागि प्रतिस्पर्धा बढिरहेका बेला पछिल्लो अवरोधले मूल्यमा थप दबाब सिर्जना गर्न सक्ने बताइएको छ।
विश्वको कुल तामा उत्पादनको पाँच भागमध्ये एकभन्दा बढी हिस्सा ओगट्ने चिलीमा पछिल्लो एक सातामा आएको खराब मौसमका कारण १३ जनाको मृत्यु भएको छ भने ठूला खानी कम्पनीहरूको उत्पादन प्रभावित भएको छ।
केही कम्पनीले खानीमा उत्खनन र प्रशोधन कार्य अस्थायी रूपमा रोकेका छन्। अत्यधिक खराब मौसमका कारण क्यानडास्थित ब्यारिकले पनि केही कर्मचारीलाई सुरक्षित स्थानमा सारेको छ।
लुन्डिन माइनिङले चिलीको उत्तरी अटाकामा क्षेत्रमा रहेको क्यासेरोनेस खानी पुनः सञ्चालन गर्न दुईदेखि तीन सातासम्म लाग्न सक्ने जनाएको छ। भारी हिमपातका कारण विद्युत् लाइनमा क्षति पुगेपछि जुलाई १८ देखि उक्त खानीको सञ्चालन रोकिएको थियो। कम्पनीको क्यान्डेलारिया खानीमा पनि वर्षाले असर गरे पनि भण्डारण गरिएको अयस्क प्रयोग गरेर सञ्चालन जारी राखिएको थियो।
पछिल्ला वर्षहरूमा तामाको मूल्य निरन्तर बढ्दै आएको छ। गत जुन २ मा तामाको मूल्य प्रतिपाउन्ड ६.७० अमेरिकी डलर अर्थात् प्रतिमेट्रिक टन करिब १३ हजार ६४३ डलरसम्म पुगेको थियो।
विज्ञहरूका अनुसार चिलीको उत्पादनमा लामो समयसम्म असर परेमा तामाको मूल्य अझ बढ्न सक्छ। तामा विद्युत् प्रसारण लाइन, एआई पूर्वाधार, विद्युतीय सवारीसाधन, स्मार्टफोन, घरेलु उपकरण र औद्योगिक मेसिन निर्माणमा अत्यधिक प्रयोग हुने भएकाले यसको मूल्य वृद्धिले विभिन्न क्षेत्रको लागत बढाउन सक्छ।
मौसमका कारण भएको अवरोधले मात्र तामाको बजारलाई पूर्ण रूपमा परिवर्तन नगर्ने भए पनि यसले आपूर्ति र मागबीचको असन्तुलनलाई थप उजागर गरेको छ ।
अमेरिकी कर नीतिको अनिश्चितता, चीनमा स्क्र्याप तामाको उपलब्धतामा कमी र खानी उत्पादनमा देखिएका समस्याले मूल्यलाई थप समर्थन गर्न सक्छ।
चिलीले यस वर्षको तामा उत्पादन अनुमान करिब २ प्रतिशत घटाएर ५३ लाख टनमा झारेको छ । चिलीमा उत्पादन लगातार दोस्रो वर्ष घट्ने अपेक्षा गरिएको अवस्थामा मौसमजन्य अवरोधले आपूर्ति जोखिम अझ बढाएको छ।
यद्यपि, विज्ञहरूले हालको आँधी–तूफानबाट परेको असर ‘अस्थायी र सीमित’ रहेको बताएका छन्। ठूला खानी कम्पनीहरूले सम्भावित जोखिम व्यवस्थापनका लागि वैकल्पिक योजना बनाएका कारण दीर्घकालीन असर कम हुन सक्ने उनीहरूको भनाइ छ।
हाल लण्डन मेटल एक्सचेञ्जमा तीन महिनाको तामाको कारोबार प्रतिटन करिब १३ हजार ७५० डलर आसपास भइरहेको छ। विश्लेषकहरूका अनुसार अमेरिकी कर नीति, चीनको माग र आपूर्ति अवस्थाले आगामी महिनामा तामाको मूल्य निर्धारण गर्ने मुख्य भूमिका खेल्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।