काठमाण्डौ । नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको विराटनगरस्थित निवासमा प्रहरीले छापा मारेको छ ।
अवैध सामग्री तथा स्रोत नखुलेको रकम राखिएको सूचनाका आधारमा सोमबार बिहान मोरङ प्रहरीको टोलीले मुन्दडाको घरमा छापा मारेको थियो। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको नेतृत्वमा पुगेको टोलीले पाँच घण्टासम्म खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालय र गोल्छा मोडतर्फका सडकसमेत नियन्त्रणमा लिएको थियो। प्राप्त सूचनाका आधारमा अनुसन्धानका लागि खानतलासी गरिएको तर खोजीका क्रममा कुनै अवैध सामग्री फेला नपरेपछि टोली फर्किएको जनाइएको छ ।
मुन्दडा परिवारको देवनरा ग्रुपअन्तर्गत विभिन्न उद्योग तथा व्यवसाय सञ्चालनमा छन्। मुन्दडा देवनरा समूहका अध्यक्ष समेत हुन् । देवनरा समूह मुख्य रूपमा चाँदीको कारोबारमा सक्रिय छ।
यसका साथै मुन्दडा समूहले बाबा आयल, जुट मिल, चाँदीका गहना बनाउने उद्योग जेजे ज्वेलर्सलगायत उद्योग सञ्चालन गर्दै आएको छ।

