काठमाण्डौ । मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान यात्रुबाहक बस र कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार चार जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार काठमाण्डौबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुबाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो। प्रारम्भिक जानकारीअनुसार कारमा चार जना सवार थिए।
प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको उहाँले जानकारी दिनुभयो। बेपत्ता यात्रु तथा कारको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सुनकोशी नदीमा आएको बाढीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ। बेपत्ता यात्रु तथा कारको खोजीका लागि आवश्यक उद्धार उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली परिचालन गरिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका टोलीहरू संयुक्त रूपमा घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।