काठमाण्डौ । नेकपा एमालेले सुनसरी घटना र त्यसक्रममा चार जनाको मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले घटनाको वास्तविक कारण पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न न्यायिक छानबिन आवश्यक रहेको बताए।
उनले घटनामा चार जनाको ज्यान गएको भन्दै यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने धारणा राखे।
घटनालाई सामान्य रूपमा लिएर टार्न नमिल्ने उल्लेख गर्दै बरालले यसको यथोचित कारण खोजी गरी दीर्घकालीन समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरे।
‘घटनाको वास्तविक कारण पत्ता लगाएर समस्याको दिगो समाधानतर्फ लागौँ। यही दिशामा अघि बढ्दा देशको हित हुन्छ,’ उनले भने, ‘यस विषयमा सरकारले हठ देखाउनु स्वीकार्य हुँदैन।’
एमालेले घटनामा भएको बल प्रयोग, सुरक्षा व्यवस्थापन र सरकारी भूमिकाबारे स्वतन्त्र तथा विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।