काठमाण्डौ । निलगिरी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।
कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ४ गतेका लागि साधारण सभा डाकेको हो ।
सभामा आईपीओ निष्कासन गर्ने तथा कम्पनीले जारी गर्ने पूँजीको सर्वसाधारणलाई छुट्टाइने सेयर प्रतिशत संशोधन गरी पारित गरिनेछ ।
उक्त सभामा कम्पनीको संशोधन गरिने जारी पूँजीबाट सर्वसाधारणलाई छुट्टाइएको १२ प्रतिशत सेयर बाहेकको १२ लाख कित्ता सेयर रु.१०० का दरले कम्पनीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेहरुलाई आवश्यक प्रक्रिया गरी बिक्री गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै, कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।