काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट संकलित उक्त रकम भदौ २२ गते आयोजित एक कार्यक्रममा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य एवं कर्मचारी प्रतिनिधि लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल तथा प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो।
कम्पनीका अनुसार बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा नेपाल टेलिकमका कर्मचारीहरूले विगतमा पनि व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका छन्। यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उद्धार कोषमा जम्मा गरिएको हो।
नेपाल टेलिकमले उक्त सहयोगबाट विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म योगदान पुग्ने अपेक्षा गरेको छ।
यसैबीच, नेपाल टेलिकमले संस्थागत रूपमा कम्पनीको तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम केही दिनभित्र उपलब्ध गराउने जनाएको छ। साथै, विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम राख्दै राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।