बिहीबार, आश्विन २९,२०८३ 02:33:38
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:33:38
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’ कुर्दै लगानीकर्ता, बजारमा आशा र आशङ्काको दोहोरो मनोविज्ञान

‘सुधारको ठोस आधार आए बजार माथि जान्छ, फेरि आश्वासन मात्रै बाँडिए झन् तल झर्न सक्छ’

Bizshala
अर्थमन्त्रीको ‘सरप्राइज प्याकेज’ कुर्दै लगानीकर्ता, बजारमा आशा र आशङ्काको दोहोरो मनोविज्ञान
New Office

काठमाण्डौ। लगातारको गिरावटले थलिएको सेयर बजारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुधारको विशेष प्याकेज ल्याउने घोषणा गरेपछि आशाको झिनो किरण देखिएको छ। बजारले शुक्रबार र सोमबार सकारात्मक प्रतिक्रिया जनाए पनि लगानीकर्ता अझै ढुक्क हुन सकेका छैनन्।

अर्थमन्त्री वाग्लेले साताभित्रै पूँजीबजारका समस्या सम्बोधन गर्ने विशेष प्याकेज सार्वजनिक गर्ने बताएका थिए। त्यसपछि बजारको रङ फेरिन थालेको छ। तर, यो सुधार नीतिगत परिवर्तनप्रतिको विश्वास हो वा प्याकेजको प्रतीक्षामा देखिएको अल्पकालीन उत्साह मात्रै हो भन्ने प्रश्न भने कायमै छ।

अर्थमन्त्रीको प्याकेजमा के–कस्ता विषय समेटिएलान्, बजारलाई तत्काल चलायमान बनाउने ठोस व्यवस्था आउला कि फेरि आश्वासनमै सीमित होला भन्ने चासो ब्रोकर हाउसदेखि लगानीकर्तासम्म देखिन्छ।

बिजशालाको नियमित स्तम्भ ‘ग्राउन्ड जिरो’का क्रममा सोमबार बानेश्वर र अनामनगरका विभिन्न ब्रोकर हाउस पुग्दा बजारमा उत्साहभन्दा बढी ‘पर्ख र हेर’को मनोविज्ञान भेटियो। लगानीकर्ताको एउटै निष्कर्ष थियो–प्याकेज राम्रो आए बजार अझ माथि जान्छ, चित्त नबुझे अहिलेको वृद्धि टिक्दैन।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

प्याकेजको चर्चा : ‘राम्रो आए माथि, चित्त नबुझे झन् तल’

सबैभन्दा पहिले हामी बानेश्वरस्थित नागरिक स्टक डिलर पुग्यौँ। नेप्से परिसूचक सामान्य अंकले बढिरहेको थियो भने कारोबार समय अघि बढेसँगै लगानीकर्ताको उपस्थिति पनि बाक्लिन थालेको थियो।

त्यहाँ अधिकांश लगानीकर्ता लाभांश घोषणा गरिसकेका वा लाभांश दिन सक्ने कम्पनीको खोजीमा देखिन्थे। केहीको ध्यान विकास बैंकमा थियो भने कतिपयले जलविद्युत कम्पनीका सेयर नियालिरहेका थिए।

एक लगानीकर्ता विकास बैंकहरूको लाभांशबारे चर्चा गर्दै थिए। “यसपटक केही विकास बैंकले राम्रो लाभांश दिएका छन्। दशैंअघि नै लाभांश घोषणा गर्ने कम्पनी छान्नुपर्छ,” उनले भने, “पूँजीगत लाभ लिन नसके पनि लाभांशबाट प्रतिफल निकाल्नुपर्छ।”

केही समयपछि आएका अर्का लगानीकर्ता स्क्रिन बोर्डमा हरियाली देखेर उत्साहित भए। उनले ठट्टा गर्दै भने, “आज महिलाले रातो सारी लगाउने दिनमा बजार पूरै हरियो भएछ। महिलाहरू व्रत बसेको बजारलाई फाप्यो कि क्या हो !”

नजिकै रहेका अर्का लगानीकर्ताले भने बजार बढ्नुमा अर्थमन्त्रीको प्याकेजसम्बन्धी अपेक्षाले काम गरेको बताए।

“अर्थमन्त्रीले सोमबार पूँजीबजार सुधारको प्याकेज सार्वजनिक गर्ने भन्नुभएको थियो। त्यही अपेक्षाले बजार बढेको हुन सक्छ,” उनले भने, “प्याकेज राम्रो आयो भने बजार अझ माथि जान्छ। अपेक्षाअनुसार आएन भने झन् तल जान सक्छ।”

लगानीकर्ताको यो भनाइले बजारको अहिलेको वास्तविक मनोविज्ञान देखाउँछ। बढ्दो सूचकले उत्साह त थपेको छ, तर त्यो उत्साहलाई दीर्घकालीन विश्वासमा बदल्न सरकारबाट ठोस नीतिगत हस्तक्षेप आवश्यक छ।

लाभांशको आशदेखि करेक्सनको त्राससम्म

त्यसपछि हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज अर्थात् ब्रोकर नम्बर ४५ पुग्यौँ। बजारको वृद्धि जारी थियो र ब्रोकर हाउसमा लगानीकर्ताको बाक्लो उपस्थिति देखिन्थ्यो।

एक समूह ‘लुडो’ खेलिरहेको थियो भने अरू लगानीकर्ता स्क्रिन बोर्डमा नजर लगाउँदै बजारको सम्भावित दिशाबारे छलफल गरिरहेका थिए। यहाँ पनि लगानीकर्ताको मुख्य चासो लाभांश दिन सक्ने कम्पनीमै केन्द्रित थियो।

“यसपटक दशैंअघि धेरै कम्पनीले लाभांश घोषणा गरे। राम्रो कम्पनी हेरेर किन्नुपर्छ,” एक लगानीकर्ताले भने, “अब लाभांश घोषणा गर्न बाँकी कम्पनी थोरै छन्। बैंकहरूमा पनि अधिकांशले घोषणा गरिसके।”

लुडो खेलिरहेका लगानीकर्तामध्ये एकले स्क्रिनतर्फ हेर्दै भने, “बजार के भइरहेको छ, यता पनि नजर लगाऔँ है साथीहरू। आफ्नो स्क्रिप्ट राम्रो बढेको रहेछ भने बेचिहाल्नुपर्छ नि !”

सँगै खेलिरहेका अर्काले जवाफ दिए, “किन आत्तिनुपर्‍यो ? आज बजार बढेको छ। थोरै नाफा खाएर भए पनि बेचिन्छ।”

बजार बढिरहे पनि अर्को समूह भने एक–दुई दिनमै करेक्सन आउन सक्ने आशङ्कामा थियो। उनीहरूको बुझाइमा बजारको अहिलेको वृद्धिमा दीर्घकालीन लगानीकर्ताभन्दा अल्पकालीन खेलाडी बढी सक्रिय छन्।

“बजारमा अहिले खेलाडी मात्रै सक्रिय छन्। एक–दुई दिन बढाएजस्तो गरेर फेरि ठूलो अंकले घटाउन सक्छन्,” एक लगानीकर्ताले भने, “कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन्, तर बजारले आधारभूत पक्षभन्दा मूल्य चलखेल र पूँजीगत लाभलाई बढी पछ्याइरहेको छ। यसरी बजार कसरी दिगो हुन्छ ?”

त्यही बेला लुडो खेलिरहेका लगानीकर्तालाई छेउमा बसेकाले स्क्रिनतर्फ हेर्न आग्रह गरे। “त्यो लुडो छाड्नुस्, यता बजारकै खेल हेर्न रमाइलो छ,” उनले भने, “यहाँ त करोडौँ रुपैयाँको खेल चलिरहेको छ।”

हल्का ठट्टाभित्र पनि बजारको गम्भीर यथार्थ लुकेको थियो। लगानीकर्ता बजारमै छन्, तर अधिकांशको ध्यान कम्पनीको दीर्घकालीन मूल्यभन्दा छोटो समयमा हुने मूल्य उतारचढावमा केन्द्रित छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

‘पूँजीगत लाभकर घटे बजार माथि जान सक्छ’

हामी अनामनगरकै दीपशिखा धितोपत्र कारोबार कम्पनी पुग्दा नेप्से दोहोरो अंकले बढिरहेको थियो। त्यहाँ उपस्थित लगानीकर्ता भने सरकारप्रति उत्साहितभन्दा बढी असन्तुष्ट देखिन्थे।

“बालेन शाह प्रधानमन्त्री बन्ने भएपछि बजार बढ्छ भन्ने हल्ला थियो। त्यही बेला सेयर किनियो, अहिले लगानी डुबेको छ,” एक लगानीकर्ताले भने, “अर्थमन्त्रीले बजार सुधारको प्याकेज ल्याउँछु भनेका छन्। हेरौँ, कति चित्तबुझ्दो आउँछ।”

नजिकै रहेका अर्का लगानीकर्ताले बजारमा ठूला तथा दीर्घकालीन लगानीकर्ताको प्रवेश नभएसम्म नीतिगत प्याकेजको प्रभाव सीमित हुने बताए।

“अहिले बजारमा ट्रेडर मात्रै हाबी छन्। ठूला लगानीकर्ता प्रवेश गर्न खोजिरहेका छैनन्,” उनले भने, “लो–क्याप कम्पनी हेरेर कारोबार गर्नेहरूलाई यस्ता प्याकेजले खासै फरक पार्दैन। एउटा स्क्रिप्ट २० रुपैयाँ बढ्नेबित्तिकै बेचिन्छ भने बजार कसरी टिक्छ ?”

सरकारप्रति असन्तुष्ट अर्का लगानीकर्ताले बजार कमजोर हुनुमा पूँजीगत लाभकर वृद्धिलाई पनि प्रमुख कारण माने।

“साना लगानीकर्तालाई करले धेरै फरक नपर्ला, तर करोडौँ रुपैयाँ लगानी गर्नेहरूलाई पूँजीगत लाभकर वृद्धिले असर गर्छ,” उनले भने, “सरकारले कर घटाउने चर्चा छ। साँच्चै पुरानो व्यवस्था फर्कियो भने बजार केही हदसम्म माथि जान सक्छ।”

सूचक बढ्यो, विश्वास अझै बढेन

सोमबार ब्रोकर हाउसहरूमा भेटिएको दृश्यले बजारमा आशा फर्किएको देखाए पनि विश्वास पूर्ण रूपमा स्थापित भइनसकेको प्रस्ट पार्छ। लगानीकर्ता अर्थमन्त्रीको घोषणालाई अवसरका रूपमा हेरिरहेका छन्, तर विगतका अधुरा प्रतिबद्धताका कारण उनीहरू तत्काल ठूलो जोखिम लिन तयार छैनन्।

अर्थमन्त्रीको प्याकेजले केवल केही दिन सूचक उचाल्ने मनोवैज्ञानिक ‘टोनिक’ दिने हो वा पूँजीबजारको संरचनात्मक समस्या सम्बोधन गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने हो भन्ने कुराले आगामी बजारको दिशा निर्धारण गर्नेछ।

पूँजीगत लाभकर, संस्थागत लगानीकर्ताको प्रवेश, बैंक तथा वित्तीय संस्थाको लगानी सीमा, सेयर बिक्रीसम्बन्धी कडा व्यवस्था, मार्जिन कर्जा र बजारमा हुने मूल्य चलखेललगायत विषयमा ठोस सम्बोधन भए अहिलेको उत्साहले निरन्तरता पाउन सक्छ।

तर, आकर्षक शब्दमा पुरानै आश्वासन दोहोरियो भने बजारले त्यसको प्रतिक्रिया पनि कठोर रूपमा दिन सक्छ। त्यसैले अहिले लगानीकर्ताको नजर नेप्सेको स्क्रिनभन्दा बढी अर्थमन्त्रीले खोल्न बाँकी ‘प्याकेज’मा अडिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.