काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले प्रस्तावित ६ प्रतिशत लाभांश पारित गर्न २८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले असोज २८ गते बुधबार कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
बैंकको हाल कायम चुक्तापूँजी १२ अर्ब ८ करोड ६२ लाख ११ हजार रुपैयाँ छ। त्यसको ३ प्रतिशतले हुन आउने करिब ३६ करोड २५ लाख ८६ हजार रुपैयाँबराबरको बोनस सेयर तथा सोही रकमबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव छ। दुवै गरी सेयरधनीले करिब ७२ करोड ५१ लाख ७२ हजार रुपैयाँबराबरको कुल प्रतिफल पाउनेछन्।
प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी करिब १२ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ पुग्नेछ। बोनसका कारण जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्तावसमेत सभामा पेस गरिनेछ।
अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश
सभाले बैंकका अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यसैगरी, आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।
बैंकका सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छ्रे सेक्युरिटिज लिमिटेडको वित्तीय विवरणसहित तयार गरिएको एकीकृत वित्तीय विवरण पनि सभाबाट अनुमोदन गरिनेछ।
सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ। रिक्त पदमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्नुका साथै संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट बाँकी कार्यकालका लागि सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि कार्यसूचीमा छ।
प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधनमाथि नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य नियामक निकायले थपघट वा परिमार्जन गर्न निर्देशन दिएमा त्यसअनुसार आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरिनेछ।
असोज १२ गते बुक क्लोज
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द अर्थात् बुक क्लोज गर्नेछ। त्यसअनुसार असोज ११ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ बाट कुल ८ प्रतिशत लाभांश वितरण गरेको थियो। यसपटक लाभांश दर घटेर ६ प्रतिशतमा सीमित भएको छ। गत वर्ष बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।