काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रकम रु.३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।
कम्पनीले ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।
उक्त क्रममा प्राइमक मर्सियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धरले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।