काठमाण्डौ । अष्ट्रेलियाले कामको समयभन्दा अन्य समयमा कर्मचारीहरुलाई हाकिमको फोनकल तथा म्यासेज बेवास्ता गर्न मिल्ने अधिकार प्रदान गर्ने कानुन ल्याउने तयारी गरेको छ ।
‘राइट टु डिसकनेक्ट’ अष्ट्रेलियाको संघिय सरकारले संसदीय बिल अन्तर्गत प्रस्ताव गरेको औद्योगिक कानुनको हिस्सा हो । यो कानुनले कामदारहरुको अधिकार संरक्षण गर्ने र उनीहरुको काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने जनाइएको छ । यो कानुन अनुसार कर्मचारीले फोन कल तथा म्यासेजको प्रतिक्रिया नजनाएमा कुनै प्रकारको दण्ड वा जरीवाना तिर्नुपर्ने छैन ।
कामदारहरुलाई मोबाइल स्विच अफ गर्ने अधिकार प्रदान गर्ने यस्तै प्रकारका कानुनहरु फ्रान्स,स्पेन र युरोपेलि युनियनका अन्य देशहरुमा पहिल्यै देखि कार्यान्वयनमा छन् ।
अष्ट्रेलियाका अधिकांश सिनेटरहरुले यो कानुनको समर्थन गरेको त्यहाँको रोजगारमन्त्री टोनि बर्कले बताएका छन् । यो नयाँ कानुनले कामदारहरुलाई कामको अवधिभन्दा अन्य समयमा बेकामको फोनकल तथा म्यासेज अस्विकार गर्ने अधिकारमार्फत बिनापैसा ओभर टाइम काम गर्न रोक लगाउने बर्कले बताए ।
नयाँ व्यवस्था अनुसार कामदारहरुले कामको समयभन्दा अन्य समयमा आएको फोनकल तथा म्यासेजको प्रतिक्रिया नदिए रोजगारदाताले कर्मचारीलाई दण्ड जरीवाना गर्न पाउने छैनन् ।
यो बिल आगामी सातासम्म संसदमा पेश गरिने जनाइएको छ ।
तर केहि राजनितिज्ञ,रोजगारदाता समूह र कर्पोरेट लिडरहरुले यो कानुनले अतिक्रमण भएको र लचिलो काम गर्ने वातावरण र प्रतिष्पर्धात्मकतालाई प्रभाव पार्ने कदमका रुपमा विरोध गरेका छन् । -एजेन्सी