सोमबार, भाद्र २२,२०८३ 02:05:17
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 02:05:17
Bizshala
Global IME Bank Limited

एक दिन पहिरो, अर्को दिन सर्किट : पियोरको सेयरमा योजनाबद्ध खेलको आशंका

बिक्री आदेश शून्य बनाएर मूल्य तानियो, दुई दिनको अस्वाभाविक कारोबार छानबिनको दायरामा ल्याइनुपर्ने माग

एक दिन पहिरो, अर्को दिन सर्किट : पियोरको सेयरमा योजनाबद्ध खेलको आशंका
New Office

काठमाण्डौ । वित्तीय विवरणले उत्साहित हुने कुनै ठोस आधार नदेखाए पनि पियोर इनर्जी लिमिटेडको सेयरमूल्यमा सोमबार अस्वाभाविक उछाल आएको छ।

अघिल्लो कारोबार दिन प्रतिकित्ता ६६२ रुपैयाँमा बन्द भएको कम्पनीको सेयरमूल्य सोमबार बजार खुलेलगत्तै बढ्दै १५ प्रतिशतको सकारात्मक सर्किटसहित ७६१ रुपैयाँ ३० पैसा पुगेको हो।

कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण हेर्दा सेयरमूल्य एकैदिन अधिकतम सीमासम्म बढ्नुपर्ने कुनै नयाँ वित्तीय उपलब्धि देखिँदैन। उल्टै कम्पनीको विद्युत् बिक्री आम्दानी र खुद नाफा दुवै अघिल्लो वर्षभन्दा घटेको छ।

कारोबार प्रणालीमा कम्पनीको सेयर सकारात्मक सर्किटमा पुगेका बेला बिक्रीतर्फ एउटा पनि आदेश देखिएको थिएन। खरिदतर्फ भने २७ हजार ४०२ कित्ताको माग राखिएको थियो। त्यसमध्ये सर्किट मूल्य ७६१ रुपैयाँ ३० पैसामै १२ वटा आदेशबाट चार हजार २६८ कित्ताको माग देखिन्थ्यो।

बिक्री आदेश पूर्ण रूपमा गायब हुनु र सीमित खरिद मागले मूल्यलाई अधिकतम सीमासम्म पुर्‍याउनुले पियोर इनर्जीको सेयरमा स्वाभाविक मूल्य खोजी भइरहेको हो वा योजनाबद्ध रूपमा आपूर्ति रोकेर मूल्य उचालिएको हो भन्ने प्रश्न जन्माएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नाफा २१ प्रतिशत घट्दा सेयरमा १५ प्रतिशत उछाल

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा २४ करोड ७६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २५ करोड ९२ लाख रुपैयाँ थियो। यसरी कम्पनीको प्रमुख व्यावसायिक आम्दानी करिब ४.५ प्रतिशत घटेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा तीन करोड १९ लाख रुपैयाँबाट घटेर दुई करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ। यो करिब २०.९ प्रतिशतको गिरावट हो।

नाफा घटेपछि प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको करिब चार रुपैयाँबाट घटेर तीन रुपैयाँ १६ पैसामा झरेको छ। यही प्रतिसेयर आम्दानीका आधारमा ७६१ रुपैयाँ ३० पैसाको बजारमूल्य गणना गर्दा कम्पनीको मूल्य–आम्दानी अनुपात अर्थात् पीई रेसियो करिब २४१ गुणा पुग्छ।

यसको अर्थ हालको बजारमूल्य बराबरको रकम कम्पनीले अहिलेको दरमा प्रतिसेयर नाफा कमाएर फिर्ता गर्न सैद्धान्तिक रूपमा करिब २४१ वर्ष लाग्ने देखिन्छ। यस्तो मूल्यांकन उच्च वृद्धिदर भएका कम्पनीमा समेत महँगो मानिन्छ, जबकि पियोर इनर्जीको आम्दानी र नाफा दुवै घटिरहेका छन्।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ६४ पैसा छ। तर बजारमा सेयर त्यसको ७.३५ गुणा मूल्यमा किनबेच भइरहेको छ। अर्थात् किताबी मूल्यभन्दा प्रतिकित्ता करिब ६५८ रुपैयाँ बढी मूल्य लगानीकर्ताले तिरिरहेका छन्।

एकैदिन कागजी बजार पुँजीकरण ७९ करोडले बढ्यो

पियोर इनर्जीका कुल ८० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत छन्। सोमबार सेयरमूल्य प्रतिकित्ता ९९ रुपैयाँ ३० पैसाले बढ्दा कम्पनीको कुल बजार पुँजीकरण एकैदिन करिब ७९ करोड ४४ लाख रुपैयाँले बढेको छ।

सर्किट मूल्यमा कम्पनीको बजार पुँजीकरण करिब ६ अर्ब नौ करोड रुपैयाँ पुगेको छ। तर कम्पनीको कुल सम्पत्ति दुई अर्ब ३४ करोड रुपैयाँ र कुल नेटवर्थ करिब ८२ करोड ९१ लाख रुपैयाँ मात्रै छ।

यसरी बजारले कम्पनीको वास्तविक नेटवर्थभन्दा सात गुणाभन्दा बढी मूल्यांकन गरिरहेको छ। वार्षिक २४ करोड ७८ लाख रुपैयाँ हाराहारीको कुल आम्दानी गर्ने कम्पनीको बजार मूल्यांकन छ अर्ब रुपैयाँभन्दा माथि पुग्नुले पनि मूल्य र वित्तीय आधारबीच ठूलो दूरी देखाउँछ।

एक दिन लोअर नजिक, अर्को दिन अपर सर्किट

पियोर इनर्जीको सेयरमूल्यमा देखिएको दुई कारोबार दिनको उतारचढाव झनै अस्वाभाविक छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य १३.३३ प्रतिशतले घटेर प्रतिकित्ता ६६२ रुपैयाँमा झरेको थियो। त्यसको अर्को कारोबार दिन नै मूल्य १५ प्रतिशतले बढेर ७६१ रुपैयाँ ३० पैसा पुगेको हो।

यसरी दुई कारोबार दिनमा सेयरमूल्यले ठीक विपरीत दिशा समातेको छ। अघिल्लो दिन बिक्रीको अत्यधिक चापमा परेको सेयर अर्को दिन कारोबार खुलेलगत्तै बिक्री आदेशविहीन बनेर सकारात्मक सर्किटमा पुग्यो।

अघिल्लो दिनको १३.३३ प्रतिशत गिरावटपछि सोमबार १५ प्रतिशत बढे पनि सेयरमूल्य पुरानै तहमा भने फर्किएको छैन। मूल्य ७६१ रुपैयाँ ३० पैसा पुगे पनि दुई कारोबार दिनअघिको अनुमानित मूल्य ७६४ रुपैयाँ हाराहारीभन्दा अझै करिब तीन रुपैयाँ कम छ। अर्थात् प्रतिशतका हिसाबले ठूलो गिरावटपछि उही आधारमा भएको ठूलो वृद्धिले मूल्यलाई पहिलेकै स्तरमा समेत पुर्‍याएको छैन।

तर मूल प्रश्न मूल्य पुरानै तहमा पुग्यो वा पुगेन भन्ने होइन। कम्पनीको नाफा घटेको, प्रतिसेयर आम्दानी तीन रुपैयाँ १६ पैसामा सीमित भएको र मूल्य–आम्दानी अनुपात २४१ गुणा पुगेको अवस्थामा एक दिन १३.३३ प्रतिशत घट्ने र अर्को दिन १५ प्रतिशत बढ्ने आधार के हो भन्ने हो।

कम्पनीबाट मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने कुनै नयाँ सकारात्मक सूचना सार्वजनिक नभएको अवस्थामा देखिएको यस्तो तीव्र ‘भी–आकारको’ उतारचढावले बजारमा स्वाभाविक मूल्य खोजीभन्दा पनि सीमित उपलब्ध सेयरमा आक्रामक खरिद–बिक्री आदेशमार्फत मूल्य घुमाइएको हुनसक्ने आशंका जन्माएको छ।

अघिल्लो दिन सेयर बेचेर मूल्य ६६२ रुपैयाँसम्म झार्ने ब्रोकर तथा हितग्राही खाता र अर्को दिन ७६१ रुपैयाँ ३० पैसासम्म पुर्‍याउने खरिदकर्ता एउटै समूहसँग सम्बन्धित छन् कि छैनन् भन्ने विषय नेप्से र धितोपत्र बोर्डले परीक्षण गर्नुपर्ने देखिन्छ।

ऋणको भारी, नगद जम्मा ३३ लाख

कम्पनीले असार मसान्तसम्म एक अर्ब ४० करोड ५४ लाख रुपैयाँ दीर्घकालीन र १० करोड २४ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ। दुवै जोड्दा कम्पनीमाथि करिब एक अर्ब ५० करोड ७९ लाख रुपैयाँ बैंक ऋण देखिन्छ।

त्यसको तुलनामा कम्पनीसँग नगद तथा नगदसरहको सम्पत्ति जम्मा ३३ लाख २८ हजार रुपैयाँ छ।

कम्पनीको कुल चालु सम्पत्ति पाँच करोड ७२ लाख रुपैयाँ हुँदा चालु दायित्व ११ करोड आठ लाख रुपैयाँ छ। चालु अनुपात करिब ०.५२ गुणामात्र हुनु अल्पकालीन दायित्व भुक्तानी क्षमतामा पर्याप्त सहजता नरहेको संकेत हो।

समीक्षा वर्षमा कम्पनीले सात करोड ९३ लाख रुपैयाँ ऋणको ब्याज तथा वित्तीय लागत व्यहोरेको छ। यो रकम कम्पनीको सञ्चालन आम्दानीको करिब ३२ प्रतिशत हो। साथै, ह्रासकट्टी तथा अमोर्टाइजेसन खर्च १० करोड ५० लाख रुपैयाँभन्दा बढी छ।

ऋणको ब्याज र ह्रासकट्टी जोड्दा कम्पनीको सञ्चालन आम्दानीको करिब तीन चौथाइ हिस्सा यी दुई शीर्षकमै खर्च भइरहेको देखिन्छ।

आईपीओको प्रक्षेपणभन्दा निकै कमजोर नतिजा

कम्पनीले आईपीओ जारी गर्दा सार्वजनिक गरेको विवरणपत्रमा आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउने र प्रतिसेयर आम्दानी नौ रुपैयाँ २१ पैसा पुर्‍याउने प्रक्षेपण गरेको थियो।

तर वास्तविक चौथो त्रैमासिक विवरणमा नाफा दुई करोड ५३ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी तीन रुपैयाँ १६ पैसामात्र देखिएको छ। अर्थात् कम्पनीले आफ्नै विवरणपत्रमा गरेको नाफा प्रक्षेपणको करिब ३४ प्रतिशत मात्र हासिल गरेको छ।

प्रक्षेपित नाफाको तुलनामा वास्तविक नाफा करिब चार करोड ८४ लाख रुपैयाँ कम छ। प्रतिसेयर आम्दानी पनि प्रक्षेपणभन्दा झण्डै ६ रुपैयाँ कम भएको छ।

आईपीओ जारी गर्नुअघि कम्पनीले प्राप्त गरेको ‘केयर–एनपी बीबी प्लस’ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गरेको थियो।

लकइन कहिले खुल्छ ?

पियोर इनर्जीको चुक्तापुँजी ८० करोड रुपैयाँ छ। यसमध्ये संस्थापक समूहको ६४ लाख कित्ता अर्थात् ८० प्रतिशत र सर्वसाधारण समूहको १६ लाख कित्ता अर्थात् २० प्रतिशत सेयर छ।

कम्पनीको आईपीओ २०८२ वैशाख ११ गते अर्थात् सन् २०२५ अप्रिल २४ मा सर्वसाधारणलाई बाँडफाँट भएको थियो।

विवरणपत्रअनुसार संस्थापक, कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाको सेयर सर्वसाधारणलाई आईपीओ बाँडफाँट भएको मितिबाट तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइँदैन।

त्यसअनुसार कम्पनीको संस्थापक तथा अन्य लकइनमा रहेको सेयरको अवधि सन् २०२८ अप्रिल २४ अर्थात् २०८५ वैशाख १२ गते आसपास समाप्त हुने देखिन्छ। बजारसम्बन्धी विवरण उपलब्ध गराउने प्लेटफर्महरूले पनि संस्थापक सेयर खुल्ने मिति अप्रिल २४, २०२८ उल्लेख गरेका छन्।

यस हिसाबले संस्थापक सेयरको लकइन खुल्न अहिले पनि करिब १९ महिना बाँकी छ। त्यसैले सोमबारको सर्किटलाई तत्कालै संस्थापकको सेयर बिक्रीको तयारीसँग सीधा जोड्ने पर्याप्त आधार भेटिँदैन।

तर ८० प्रतिशत सेयर लकइनमा हुँदा बजारमा वास्तविक कारोबारका लागि उपलब्ध सेयरको परिमाण निकै सानो छ। न्यून ‘फ्री–फ्लोट’ भएका कम्पनीमा सीमित रकम र योजनाबद्ध आदेशबाट समेत मूल्यलाई तीव्र रूपमा माथि वा तल लैजान तुलनात्मक रूपमा सजिलो हुन्छ।

मुख्य संस्थापककै नियन्त्रणमा ६४ प्रतिशतभन्दा बढी

कम्पनीको विवरणपत्रअनुसार अध्यक्ष अक्षय गोल्यानसँग मात्रै ४० लाख ९९ हजार ५०० कित्ता सेयर छ। यो कम्पनीको संस्थापक पुँजीको ६४.०५ प्रतिशत र कुल चुक्तापुँजीको करिब ५१.२४ प्रतिशत बराबर हो।

यस्तै भारतको रिनेर्गो डेभलपर्स प्रालिसँग २० लाख कित्ता अर्थात् संस्थापक सेयरको ३१.२५ प्रतिशत र गोल्यान पावर लिमिटेडसँग तीन लाख कित्ता अर्थात् ४.६९ प्रतिशत सेयर रहेको विवरणपत्रमा उल्लेख छ।

अर्थात् संस्थापक समूहको स्वामित्वसमेत अत्यन्त केन्द्रित छ। तर यी संस्थापक सेयर अहिले लकइनमा रहेकाले उनीहरूले प्रत्यक्ष रूपमा उक्त सेयर दोस्रो बजारमा बिक्री गर्न पाउँदैनन्।

त्यसो भए सर्किट कसले लगायो ?

सार्वजनिक रूपमा उपलब्ध मार्केट डेप्थले खरिद तथा बिक्री आदेश देखाए पनि आदेश राख्ने वास्तविक व्यक्तिको पहिचान खुलाउँदैन। ब्रोकर फ्लोरसिटले कुन ब्रोकरबाट कारोबार भयो भन्ने देखाउन सक्छ, तर त्यसबाट अन्तिम हितग्राही खातावालको पहिचान निश्चित गर्न सकिँदैन।

त्यसैले पियोर इनर्जीको सेयरमा संस्थापक, सञ्चालक वा कुनै निश्चित समूहले नै मूल्य बढाएको भनेर अहिले नै किटान गर्नु प्रमाणबिनाको आरोप हुनेछ।

तर निम्न अवस्थाले कारोबारमाथि नियामकीय परीक्षण आवश्यक देखाउँछन्-

-नाफा र आम्दानी घटेको अवस्थामा मूल्य एकैदिन १५ प्रतिशत बढ्नु,

-पीई अनुपात २४१ गुणा पुग्नु,

-आईपीओको नाफा प्रक्षेपण ठूलो अन्तरले असफल हुनु,

-बजारमा बिक्री आदेश शून्य बनाइनु,

-अत्यन्त न्यून फ्री–फ्लोट हुनु,

-र सीमित खरिद आदेशकै भरमा मूल्य अधिकतम सीमामा पुग्नु।

धितोपत्र बोर्ड र नेप्सेले सोमबारको कारोबारमा सर्किटसम्म मूल्य लैजाने खरिद आदेश कुन–कुन ब्रोकर तथा हितग्राही खाताबाट आए, ती खाताबीच पारिवारिक, संस्थागत वा आर्थिक सम्बन्ध छ कि छैन, एउटै समूहले विभिन्न खाताबाट तह–तहमा आदेश राखेको हो कि होइन र अघिल्ला दिनमा सेयर सङ्कलन गर्ने खाताहरू नै सर्किट लगाउन सक्रिय भए वा भएनन् भन्ने जाँच गर्न सक्छन्।

विशेषगरी अघिल्लो कारोबार दिन १३.३३ प्रतिशत घटेर ६६२ रुपैयाँमा झरेको सेयर अर्को कारोबार दिन नै १५ प्रतिशत बढ्नुले कम्पनीको मूल्यमा अत्यधिक अस्थिरता देखाउँछ। कम्पनीको ५२ साताको उच्च मूल्य एक हजार २६२ रुपैयाँ छ। सोमबारको सर्किटपछि पनि सेयर उक्त उच्च बिन्दुभन्दा करिब ४० प्रतिशत तल छ।

वित्तीय आधारले मूल्यवृद्धि पुष्टि नगरेको अवस्थामा यस्तो सर्किट कम्पनीको दीर्घकालीन सम्भावनाप्रतिको विश्वास हो, न्यून आपूर्तिको प्राविधिक परिणाम हो वा निश्चित समूहले सिर्जना गरेको कृत्रिम माग हो भन्ने निष्कर्ष कारोबारमा संलग्न हितग्राही खाताको नियामकीय अनुसन्धानबाट मात्रै निकाल्न सकिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.