काठमाण्डौ । अर्विट इनर्जी लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित साधारण सभा डाकेको छ । मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस १७ गते काठमाण्डौको हाडिगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा स्थानिय तथा सर्वसाधारणमा सेयर निष्कासन गर्ने,प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, नियमनकारी निकायबाट प्राप्त निर्देशनबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र कम्पनीको चुक्तापूँजीभन्दा बढी कर्जा लिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।