शनिबार, श्रावण २,२०८३ 08:48:11
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:48:11
Bizshala
Global IME Bank Limited

मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचिमा विवाद: 'कमजोर'लाई राखिएकोमा लगानीकर्ता असन्तुष्ट

मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचिमा विवाद: 'कमजोर'लाई राखिएकोमा लगानीकर्ता असन्तुष्ट
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड-नेप्सेले) मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचि सार्वजनिक गरेपछि केही कम्पनीहरुमा विवाद देखिएको छ ।  

लगानीकर्ताहरुले केही कमजोर कम्पनीको नाम सूचिमा पारिए पनि कतिपय बलिया कम्पनीको नाम नराखिएको भन्दै प्रश्न उठाएका छन् । नेप्सेले तयार गरेको नयाँ सूचिप्रति केहीको असन्तुष्टि देखिएको छ ।

उनीहरुले वित्तीय रुपमा पछिल्ला वर्षहरुमा जर्जर केही बैंक, विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत कम्पनीहरुलाई सूचिमा राखिएकोमा आश्चर्य प्रकट गरेका छन् । 

लगानीकर्ताहरुले वित्तीय रुपमा कमजोर कम्पनीहरु जस्तै, पोखरा फाइनान्स, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर कम्पनी लगायतका स्क्रिप्ट मार्जिन कारोबारयोग्य कम्पनीको सूचिमा परेकोमा प्रश्न उठाएका छन् ।  

एक लगानीकर्ता गौरव कार्कीले सामाजिक सञ्जालमा नेटवर्थ ऋणात्मक भएको पोखरा फाइनान्स र नेशनल हाइड्रोपावरलाई के आधारमा पारियो भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्-'networth घणात्मक भको चाहि जस्तै pfl ,nhpc आदि ,चाहि list मा छ सकारात्मक हरुचाहि नभको देख्दा nepse ले नै लगानिकर्तालाइ कङाल बनाउने काम गर्दैछ्। यो list को आधार मा काम भयो भने मान्छे झुण्डिने दिन धेरै छैन । nhpc ले त dividend नदेको ५ बर्स भयो भाडो रित्तो भएर।'

उनको विचारमा रिप्लाई गर्दै सेयर बजारका लगानीकर्ता केशव कोइरालाले लेखेका छन्-'पहुँचवालाहरुले होल्डिङ गरेका कम्पनीहरु परेका हुन् कि ।'

कोइरालाले आफ्नो फेसबुक वालमा यस विषयमा अर्को स्टाटस समेत लेखेका छन्ः 'nhpc र pfl जस्ता नेगेटिभ नेटवर्थका कम्पनी मार्जिन कारोबार योग्य अनि नाफामा रहेका र पोजिटिभ नेटवर्थ भएका धेरै कम्पनी हरु चाहिँ अयोग्य ? नेप्सेका चुडामणि सर र हेमन्त सर लाई प्रश्न गरौ न किन रहेछ।'

कतिपय लगानीकर्ताले चाहि नेप्सेले हालै सार्वजनिक गरेको 'मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया-२०८२' अनुसार मापदण्ड पुगेका कम्पनीहरु मात्र सूचिमा परेका भन्दै विवाद झिक्नु 'अर्थहीन' रहेको बताएका छन् । 

कतिपय लगानीकर्ताहरुले सूचिमा सर्वोत्तम सिमेन्ट, नेपाल रिइन्स्योरेन्स नपरेकोमा आश्चर्य प्रकट गरेका छन् । 

विवादित कम्पनी कस्ता छन् ?

लगानीकर्ताहरुले प्रश्न उठाएका कम्पनीहरुमध्ये सेन्ट्रल फाइनान्सले विगत ३ वर्षदेखि लाभांश दिएको छैन । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म यो कम्पनीको वितरणयोग्य मुनाफा २९ प्रतिशतले ऋणात्मक छ।  

यस्तै, यो सूचिमा परेको गोर्खाज फाइनान्सले समेत लाभांश दिएको छैन भने ६१ करोड बढीले वितरणयोग्य नाफा ऋणात्मक छ ।  

पोखरा फाइनान्सले पनि २ वर्षदेखि लाभांश वितरण गरेको छैन । कम्पनी घाटामा छ भने नेटवर्थ पनि ऋणात्मक छ ।  

गुहेश्वरी मर्चेन्टले पनि २ वर्षदेखि लाभांश दिएको छैन भने वितरणयोग्य मुनाफा ऋणात्मक नै छ ।  

नेपाल फाइनान्सले हालसम्म लाभांश नै दिएको छैन भने दोश्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ३८ करोडले ऋणात्मक छ । यसको इपीएस ११.२६ रुपैयाँले ऋणात्मक छ भने कम्पनी दोश्रो त्रैमाससम्म झण्डै ९ करोडले घाटामा छ ।  

धेरै लगानीकर्ताले प्रश्न उठाएका नेशनल हाइड्रोपावर कम्पनीले पनि लाभांश दिएको छैन, विगत केही वर्षदेखि । यो कम्पनीको प्रतिसेयर नेटवर्थ ९७.४१ रुपैयाँ मात्र छ । पीई अनुपात ८९.१४ गुणा छ भने दोश्रो त्रैमाससम्म इपीएस २.११ रुपैयाँ छ ।  

सूचिमा पर्ने मापदण्ड के छ ?

नेप्सेले लागू गरेको 'मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया-२०८२' को परिच्छेद ३ मा कारोबारयोग्य कम्पनीहरुको योग्यता तोकिएको छ ।  

यस्तो सूचिमा पर्नका लागि कम्पनीहरुलाई ४ वटा योग्यता तोकिएको छ । जसअनुसार तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचिकृत भएको, नेटवर्थ चुक्तापुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा कम्तीमा दुईवर्ष खूद नाफा भएको, प्रारम्भिक सार्वजनिक निश्कासनमार्फत निश्कासन भएको सेयर सूचिकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ । 

नेप्सेका एक अधिकारीले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रियाले तोकेको मापदण्डको आधारमा कम्पनीको नयाँ सूचि तयार भएको भन्दै विरोध जनाउनु 'तर्कसंगत' नरहेको दाबी गरे । 

यसअघि प्रकाशित समाचार :

मार्जिन कारोबारयोग्य कम्पनीको नयाँ सूचि: नेपाल-रि परेन, सिमेन्टबाट शिवम मात्र, दर्जन बढी बैंक र फाइनान्स आउट

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.