काठमाडौं। माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बैंकका अध्यक्ष रोशन केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका छन्।
बाढीपहिरोले प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुर्याएको अवस्थामा राहत र पुनःस्थापना अभियानलाई सघाउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।
यसअघि पनि बैंकले विपत्तिलगत्तै प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने सामग्रीसहित दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराएको थियो।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको रकमले प्रभावित नागरिक तथा समुदायको तत्काल राहत र पुनःस्थापना कार्यमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
विगतमा पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा सहयोग गर्दै आएको उल्लेख गर्दै माछापुच्छ्रे बैंकले आगामी दिनमा समेत विपद् प्रभावित नागरिक र समुदायको हितमा आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।