काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले एकैपटक सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेपछि अगुवा लगानीकर्ताले यसबाट बन्ने ठूलो संस्थाको आकारभन्दा भावी वित्तीय स्वास्थ्य, प्रतिफल र सेयर स्वाप रेसियो महत्वपूर्ण हुने बताएका छन्।
लगानीकर्ताका अनुसार प्राप्तिपछि मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी र व्यावसायिक आकार बढे पनि त्यसकै आधारमा सेयरधनीले लाभ पाउने सुनिश्चित हुँदैन। सिन्धु र जानकीको कमजोर वित्तीय अवस्था, सम्भावित स्वाप रेसियो तथा प्राप्तिपछि पर्न सक्ने अतिरिक्त वित्तीय भारले मुक्तिनाथका विद्यमान सेयरधनीको प्रतिफलसमेत दबाबमा पर्न सक्ने उनीहरूको विश्लेषण छ।
अगुवा लगानीकर्ताले विगतका सबै मर्जर तथा प्राप्ति सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै पूँजी वृद्धिलाई मात्र उपलब्धिका रूपमा नहेर्न सुझाएका छन्। उनीहरूका अनुसार प्राप्तिपछि एकीकृत संस्थाको व्यवसाय विस्तार, आम्दानी, प्रतिसेयर आम्दानी (ईपीएस), नेटवर्थ, खराब कर्जा व्यवस्थापन र वितरणयोग्य मुनाफामा हुने परिवर्तन नै यसको वास्तविक परीक्षाका विषय हुनेछन्।
यसले मुक्तिनाथको व्यावसायिक उपस्थिति र संस्था बन्ने महत्वाकांक्षालाई सघाउन सक्ने भए पनि कमजोर वित्तीय सूचक भएका दुई संस्थालाई एकसाथ समेट्दा तत्काल सिर्जना हुन सक्ने भारलाई बेवास्ता गर्न नहुने उनीहरूको चेतावनी छ।
‘पूँजी बढ्दैमा प्रदर्शन राम्रो हुने ग्यारेन्टी छैन’
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेल मर्जर वा प्राप्तिले हरेक कम्पनीको कार्यसम्पादन सुधार हुने कुनै ग्यारेन्टी नरहेको बताउँछन्।
“विगतमा मर्जर गरेका केही कम्पनीको प्रदर्शन अझै राम्रो देखिएको छैन,” उनले भने, “कम्पनीको पूँजी त बढ्ला, तर वास्तविक व्यावसायिक वृद्धि, ईपीएस र नेटवर्थजस्ता सूचक पनि उत्तिकै बलियो हुनुपर्छ।”
नियामकले वित्तीय संस्थाको संख्या घटाउन मर्जर तथा प्राप्तिको नीति अघि सार्नु स्वाभाविक भए पनि त्यसबाट सेयरधनीले पाउने प्रतिफल स्वतः बढ्ने निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ छ।
“पूँजी बढेपछि त्यसअनुसार व्यवसाय र नाफा बढाउन सकिएन भने सेयरमूल्यमा उल्टै दबाब पर्न सक्छ,” फुल्लेलले भने।
उनको टिप्पणीले मुक्तिनाथका विद्यमान सेयरधनीका लागि महत्वपूर्ण प्रश्न उठाएको छ—सिन्धु र जानकीलाई समेटेपछि बैंकको पूँजीसँगै नाफा र प्रतिसेयर आम्दानी पनि त्यही अनुपातमा बढ्न सक्छ कि सक्दैन?
तीन कम्पनीको ‘वास्तविक मूल्य’ देखिने दाबी
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भने यो प्राप्तिले तीनवटै कम्पनीको वास्तविक मूल्य बाहिर ल्याउने बताउँछन्।
उनका अनुसार सिन्धु विकास बैंक र जानकी फाइनान्स कम चुक्तापूँजी भएका ‘लो क्याप’ कम्पनी हुन्। सीमित सेयर आपूर्तिका कारण यस्ता कम्पनीको मूल्यमा चलखेल र कर्नरिङ गर्न तुलनात्मक रूपमा सहज हुने गरेको उनको विश्लेषण छ।
“यी दुवै कम्पनीको वित्तीय विवरण खासै बलियो छैन। तर लो क्याप भएकै कारण बजारमूल्य अस्वाभाविक रूपमा माथि पुगेको थियो,” लम्सालले भने, “अब ठूलो संस्थामा प्राप्ति भएपछि छुट्टै अस्तित्व समाप्त हुने र वास्तविक मूल्य देखिने भएकाले लगानीकर्ता दबाबमा परेका हुन्।”
यो प्रक्रियाले कमजोर वित्तीय अवस्था भएका कम्पनीको मूल्य मात्रै अस्वाभाविक रूपमा उचाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सक्ने उनको धारणा छ। तर प्राप्तिपछि मुक्तिनाथको पूँजी उल्लेख्य रूपमा बढ्दा सेयरमूल्यमा भने थप दबाब सिर्जना हुन सक्ने उनी बताउँछन्।
“बजारमा अधिकांश वाणिज्य बैंकको सेयरमूल्य ५०० रुपैयाँभन्दा तल छ,” लम्सालले भने, “मुक्तिनाथ पनि वाणिज्य बैंक बन्ने दिशामा गयो र पूँजी थप बढ्यो भने यसको सेयरमूल्य ३००–४०० रुपैयाँको हाराहारीमा आउन सक्ने सम्भावनालाई नकार्न मिल्दैन।”
कमजोर वासलातको भार कसले बोक्ने?
बजार जानकार उपेन्द्र पाठकले सिन्धु र जानकीको वित्तीय अवस्थाले मुक्तिनाथका सेयरधनीलाई समेत सतर्क बनाएको बताए।
“दुवै कम्पनीको वासलात हेर्दा अवस्था कमजोर देखिन्छ। तर बजारमा मूल्य भने चलखेल गरेर धेरै माथि पुर्याइएको थियो,” उनले भने, “प्राप्तिको खबरसँगै अब मूल्य वास्तविक धरातलमा आउने डरले लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन्।”
मुक्तिनाथले यी दुई संस्थालाई प्राप्ति गरेर भौगोलिक पहुँच, निक्षेप, कर्जा र ग्राहक आधार विस्तार गर्न सक्छ। तर प्राप्त हुने सम्पत्तिसँगै खराब कर्जा, सम्भावित कर्जा नोक्सानी व्यवस्था, कमजोर आम्दानी र अन्य दायित्व पनि उसैले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
त्यसकारण, यो सम्झौताको मूल्यांकन एकीकृत संस्थाको कुल पूँजी वा शाखा संख्याका आधारमा मात्र गर्न नमिल्ने लगानीकर्ताको भनाइ छ। प्राप्तिपछि खराब कर्जा कति हुन्छ, कर्जा असुली कस्तो रहन्छ, एकीकरण लागत कति पर्छ र नाफामा कति समयसम्म दबाब पर्छ भन्ने तथ्यले यसको सफलता निर्धारण गर्नेछ।
सिन्धु र जानकीका सेयरधनीको नजर स्वाप रेसियोमा
सिन्धु विकास बैंक र जानकी फाइनान्सका सेयरधनीको सबैभन्दा ठूलो चिन्ता भने प्राप्तिका क्रममा निर्धारण हुने सेयर स्वाप रेसियो हो।
मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले दुवै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। त्यसपछि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भए पनि स्वाप रेसियो सार्वजनिक गरिएको छैन।
सम्पत्ति, दायित्व, नेटवर्थ, कर्जाको गुणस्तर तथा सम्भावित जोखिमको विस्तृत परीक्षण अर्थात् ड्यु डिलिजेन्स अडिट (डीडीए)पछि मात्रै अन्तिम सेयर आदानप्रदान अनुपात तय हुनेछ।
पाठकका अनुसार मुक्तिनाथले प्राप्ति हुने संस्थाको वास्तविक वित्तीय क्षमताका आधारमा स्वाप रेसियो निर्धारण गरे सिन्धु र जानकीका लगानीकर्ताले अपेक्षा गरेभन्दा निकै कम अनुपात पाउन सक्छन्।
“कम्पनीहरूको वास्तविक क्षमताअनुसार स्वाप रेसियो निर्धारण भयो भने सिन्धु र जानकीले ०.५० को अनुपात पाउन पनि कठिन हुन सक्छ,” उनले भने, “लो क्याप तर उच्च बजारमूल्य भएका यी कम्पनीको अब वास्तविक मूल्य देखिने भएकाले लगानीकर्ता आत्तिएका हुन्।”
तर प्रारम्भिक सम्झौता मात्र भएको अवस्थामा सम्भावित स्वाप रेसियोबारे बजारमा भइरहेको चर्चा अनुमानमा आधारित छ। अन्तिम अनुपात डीडीए प्रतिवेदन, आपसी सहमति, सम्बन्धित संस्थाका सञ्चालक समिति तथा साधारणसभा र नियामकीय स्वीकृतिपछि मात्रै निश्चित हुनेछ।
प्राप्तिको वास्तविक परीक्षा अब सुरु
मुक्तिनाथका लागि यो सम्झौता केवल दुई संस्था गाभेर आकार बढाउने प्रक्रिया होइन। यो कमजोर वित्तीय अवस्था भएका संस्थालाई सुधार गर्दै आफ्ना विद्यमान सेयरधनीको प्रतिफल जोगाउने चुनौतीसमेत हो।
प्राप्तिपछि बैंकको कुल पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल र ग्राहक आधार बढ्न सक्छ। तर त्यससँगै ईपीएस घट्ने, खराब कर्जाको भार थपिने, लाभांश क्षमता प्रभावित हुने र बजारमूल्यमा दबाब पर्ने जोखिम पनि जोडिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।