आईतवार, भाद्र २८,२०८३ 08:53:57
Bizshala
  • आईतवार, भाद्र २८,२०८३ 08:53:57
Bizshala
Global IME Bank Limited

साउनको ‘ब्रेक’पछि बैंक कर्जामा उछाल, भदौका १९ दिनमै थपियो ४३ अर्ब

साउनको ‘ब्रेक’पछि बैंक कर्जामा उछाल, भदौका १९ दिनमै थपियो ४३ अर्ब
New Office

काठमाडौं। लामो समयदेखि अधिक तरलता बोकेर कर्जाको ग्राहक खोजिरहेका वाणिज्य बैंकमा लगानी विस्तारको संकेत देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ऋणात्मक बनेको बैंकहरूको कर्जा प्रवाह भदौ लागेसँगै उल्लेख्य रूपमा बढेको हो।

नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकको कर्जा लगानी खुद ४१ अर्ब रुपैयाँले बढेको छ। साउनमा २ अर्ब रुपैयाँले घटेको कर्जा भदौका १९ दिनमै ४३ अर्ब रुपैयाँले विस्तार भएपछि समग्र वृद्धि सकारात्मक बनेको हो।

यो तथ्यांकले चाडबाड नजिकिएसँगै आयात तथा उपभोगमा देखिन थालेको चहलपहल, होटल र जलविद्युत् क्षेत्रमा अघि बढेका नयाँ परियोजना तथा बाढीपछिको पुनर्निर्माणले बैंक कर्जाको माग बिस्तारै जगाउन थालेको संकेत गर्छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

साउनमा घट्यो, भदौमा एकाएक बढ्यो

गत असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ९० अर्ब रुपैयाँ थियो। साउन मसान्तमा यो २ अर्ब घटेर ५२ खर्ब ८८ अर्बमा झरेको थियो। तर, भदौ १९ गतेसम्म आइपुग्दा बैंकहरूको कर्जा लगानी ५३ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ।

अर्थात्, भदौका १९ दिनमै बैंकहरूले ४३ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्षको सुरुवातदेखि गणना गर्दा भने कर्जाको खुद विस्तार ४१ अर्ब रुपैयाँ अर्थात् ०.७८ प्रतिशत रहेको छ।

निक्षेपमा पनि भदौमा उल्लेख्य वृद्धि भएको छ। गत असार मसान्तमा ७४ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप साउनमा २२ अर्ब घटेर ७४ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको थियो। भदौ १९ गतेसम्म भने ६४ अर्ब थपिएर कुल निक्षेप ७५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।

यसरी चालु आर्थिक वर्ष सुरु भएयता वाणिज्य बैंकहरूको निक्षेप खुद ४२ अर्ब रुपैयाँ अर्थात् ०.५७ प्रतिशतले बढेको छ।

बैंकसँग अझै कर्जा विस्तारको प्रशस्त ठाउँ

कर्जा प्रवाह बढ्न थाले पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएको छैन। भदौ १९ गतेसम्म वाणिज्य बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.६५ प्रतिशत मात्रै छ।

बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न पाउने भएकाले विद्यमान स्रोतबाटै थप कर्जा विस्तार गर्ने ठूलो ठाउँ बाँकी देखिन्छ। न्यून ब्याजदर, पर्याप्त तरलता र खुकुलो मौद्रिक नीतिले ऋण लिन चाहने व्यवसायी तथा परियोजनालाई अनुकूल वातावरण बनाएको छ।

तर, प्रणालीमा पैसा उपलब्ध हुँदैमा कर्जा तीव्र रूपमा बढिहाल्ने अवस्था भने छैन। त्यसका लागि व्यवसायीमा लगानीको आत्मविश्वास, बजारमा वस्तु तथा सेवाको माग र सरकारको पूँजीगत खर्च पनि बढ्नुपर्ने बैंकरहरू बताउँछन्।

चाडबाडले जगायो कर्जाको माग

सामान्यतः भदौ र असोजलाई बैंक कर्जा विस्तार हुने मुख्य सिजन मानिन्छ। दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वका लागि व्यवसायीले सामान आयात तथा मौज्दात बढाउने भएकाले चालु पूँजी कर्जाको माग पनि यही अवधिमा चुलिन्छ।

उपभोक्ताबाट सवारीसाधन, घरायसी सामग्री तथा अन्य वस्तुको माग बढ्दा आयात व्यापार, थोक तथा खुद्रा व्यवसाय र आपूर्ति शृङ्खलामा बैंक कर्जाको आवश्यकता बढ्छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा देखिएको सुधारलाई बैंकरहरूले यही मौसमी चक्रसँगै आर्थिक गतिविधि चलायमान हुन थालेको प्रारम्भिक संकेतका रूपमा हेरेका छन्।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विगतको तुलनामा यस वर्ष कर्जाको माग बढ्ने संकेत सुरुवाती तथ्यांकमै देखिएको बताए।

‘विशेषगरी निर्माणाधीन तथा निर्माणमा जाने क्रममा रहेका जलविद्युत् आयोजना र होटल क्षेत्रबाट कर्जाको माग बढेको देखिन्छ,’ खालिङले भने, ‘सामान्यतः भदौ र असोज कर्जा विस्तार हुने सिजन पनि हो। चाडबाडका कारण आयात बढ्दा कर्जाको मागमा सुधार आउँछ।’

उनका अनुसार अहिले प्रवाह भएको कर्जामध्ये ठूलो हिस्सा यसअघि नै स्वीकृत भइसकेका ऋणको निकासा हो। यद्यपि, नयाँ परियोजना र आर्थिक गतिविधि विस्तारसँगै नयाँ कर्जाको मागसमेत बढ्ने सम्भावना देखिएको छ।

रसुवा बाढीपछिको पुनर्निर्माणले पनि माग बढाउने

भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीले पुर्‍याएको ठूलो भौतिक क्षतिपछिको पुनर्निर्माणले पनि बैंक कर्जा विस्तारमा भूमिका खेल्ने अनुमान गरिएको छ। क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना, आवास तथा अन्य संरचना पुनर्निर्माणका लागि खर्बौं रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

सरकारले पुनर्निर्माणमा पूँजीगत खर्च तीव्र बनाएको अवस्थामा सिमेन्ट, डन्डी, निर्माण सामग्री, ढुवानी तथा मेसिनरीको माग बढ्नेछ। उद्योगहरूले हालको उत्पादन क्षमता विस्तार गर्नुपरे थप कर्जा आवश्यक हुनेछ।

खालिङका अनुसार विदेशबाट प्राप्त हुने राहत तथा सहायता रकमले बैंकिङ प्रणालीमा निक्षेप बढाउन सक्छ। सरकारले उक्त स्रोतलाई पुनर्निर्माणमा खर्च गर्दा आर्थिक गतिविधि, रोजगारी र उपभोग बढ्ने तथा त्यसको प्रभाव कर्जाको मागमा समेत पर्नेछ।

लक्ष्य भेट्न भने अझै चुनौती

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ६.५ प्रतिशत मात्रै बढेको थियो। राष्ट्र बैंकले भने कर्जा विस्तार १२ प्रतिशत हुने लक्ष्य राखेको थियो।

सुस्त अर्थतन्त्र, कमजोर आन्तरिक माग र निजी क्षेत्रको खस्किएको आत्मविश्वासका कारण कर्जा विस्तार केन्द्रीय बैंकको लक्ष्यको झन्डै आधामै सीमित भएको थियो।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फको कर्जा ११ प्रतिशतले बढाउने लक्ष्य राखेको छ। सुरुवाती दुई महिनाको तथ्यांकले गत वर्षको तुलनामा केही उत्साह देखाए पनि लक्ष्य भेट्न कर्जा प्रवाहको वर्तमान गति वर्षभरि कायम रहनुपर्नेछ।

समग्र वित्तीय प्रणालीको निक्षेप ८३ खर्ब ३८ अर्ब

वाणिज्य बैंकमात्र नभई विकास बैंक र वित्त कम्पनीसहित समग्र बैंक तथा वित्तीय संस्थाको आकार पनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ।

सोही अवधिमा कुल कर्जा लगानी ५९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ भने औसत सीडी रेसियो ७१.३५ प्रतिशत छ।

यसले समग्र वित्तीय प्रणालीसँग थप कर्जा विस्तार गर्न पर्याप्त स्रोत रहेको देखाउँछ। अब उपलब्ध तरलतालाई उत्पादन, निर्माण, ऊर्जा, पर्यटन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्न सकिए बैंकमा थुप्रिएको पैसा आर्थिक गतिविधिमा रूपान्तरण हुन सक्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.